बिदामा गृहकार्य : रमाइलो अनि व्यावहारिक सिकाइ

रमेश दवाडी ११ असोज २०८२ १७:२०
14
SHARES
बिदामा गृहकार्य : रमाइलो अनि व्यावहारिक सिकाइ

काठमाडौँ-  यतिबेला हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँको वातावरण छ। असोज ६ गते घटस्थापनासँगै सुरु भएको दसैँ २० गते कोजाग्रत पूर्णिमासम्म चल्नेछ। त्यसपछि तिहार र छठजस्ता अन्य महत्त्वपूर्ण चाडपर्व आउनेछन्। चाडपर्वलाई लक्षित गर्दै देशभरका विद्यालयले लामो बिदा दिएका छन्।

विद्यालयमा लामो बिदा आउँदा विद्यार्थी अत्यधिक उत्साहित हुन्छन्। चाडपर्वमा विद्यालय बन्द हुँदा उनीहरू परिवारसँग रमाइलो समय बिताउँछन्। यस अवधिमा पढाइसँग पूर्ण टाढा रहनु विद्यार्थीको सिकाइ यात्राका लागि उपयोगी हुँदैन। त्यसैले शिक्षकहरूले लामो बिदामा गृहकार्य दिने परम्परा बसालेका छन्। यो गृहकार्य केवल किताबको अभ्यास मात्र नभई सिर्जनात्मक, रमाइलो र जीवनसँगै जोडिने खालको हुनुपर्छ।

शैक्षिक गृहकार्यमा सामान्यतया अनिवार्य विषयअनुसार छोटकरी नोट बनाउन, पढेका पाठमाथि माइन्ड–म्याप तयार पार्न वा डायरी लेख्न लगाइन्छ। यसले विद्यार्थीलाई निरन्तर अभ्यास गर्ने अवसर दिन्छ।

सिर्जनात्मक गृहकार्य विद्यार्थीको प्रतिभा अभिव्यक्त गर्ने माध्यम बन्न सक्छ। चित्रकला, हस्तकला वा गाउँ–सहरको सांस्कृतिक पक्षलाई स्केच वा फोटो रिपोर्टमार्फत प्रस्तुत गराउने अभ्यास विद्यार्थीलाई रमाइलो र उपयोगी दुवै हुन्छ। परिवारसँग सुनेका लोककथा वा अनुभव संक्षेप लेख्ने कार्यले मौखिक संस्कृतिको संरक्षणमा पनि सहयोग पुर्‍याउँछ।

चाडपर्वसँगै जोडिने गृहकार्य अझ प्रभावकारी हुन्छ। जस्तै- दसैँ वा तिहारमा गरिने सांस्कृतिक गतिविधिबारे टिपोट राख्ने, परिवारका ज्येष्ठ सदस्यसँग अन्तर्वार्ता गर्ने वा चाडपर्वको रमाइलो तथा समस्या चित्रसहित प्रस्तुत गर्ने। यसले विद्यार्थीलाई आफ्नो समाज, संस्कार र संस्कृति बुझ्न प्रेरित गर्छ।

व्यावहारिक गृहकार्य पनि उपयोगी हुन्छ। घर वरपरका बिरुवाबारे नोट राख्ने, परिवारसँग दैनिक खर्च-आम्दानी मिलाएर सामान्य बजेट बनाउन सिकाउने वा घरधन्दासम्बन्धी अनुभव लेख्ने कामले विद्यार्थीलाई जीवनोपयोगी सीप प्रदान गर्छ।

हुन त लामो बिदा चाडबाड मनाउनकै लागि दिइएको हो। यद्यपि यस्तो बेलामा सिकाइ गतिविधिमा चटक्कै छाड्दा बालबालिकालाई विद्यालय खुलेपछि निरन्तरता दिन असहज हुने बुझाइ शिक्षकहरूको छ। त्यसैले थौरै भए पनि काम दिएर विद्यार्थीलाई सिकाइ गतिविधिमा पनि सहभागी गराउने अभ्यास रहेको शिक्षकहरू बताउँछन्।

काठमाडौँको रानीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले यसपटक विद्यालय असोज ६ गते घटस्थापनादेखि कात्तिक १२ गतेसम्म बन्द रहेको बताए। लामो बिदामा विद्यार्थी पढाइसँग पूर्ण रूपमा टाढा नहोस् भन्ने उद्देश्यले ‘प्रोजेक्ट वर्क’ दिने निर्णय गरिएको उनले जानकारी दिए।

गौतमले भने, ‘विद्यार्थीलाई बिदामा पनि सिकाइसँग जोडिराख्न प्रोजेक्ट वर्क दिएका छौं। दसैँमा के के गर्‍यौ, बुबाआमालाई कसरी सघायौ, गाउँमा जाँदा के देख्यौ भन्ने विवरण लेखेर ल्याउन भनेका छौँ। यसरी विद्यार्थीले चाडपर्व मनाउने अनुभवलाई पढाइसँग जोड्न सक्नेछन्।’

कीर्तिपुरस्थित गोरखनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार बजगाईँका अनुसार विद्यालयले घटस्थापनादेखि कात्तिक ११ गतेसम्म बिदा दिएको छ। उनले लामो बिदा विद्यार्थीको पढाइमा प्रतिकूल प्रभाव पर्न सक्ने भएकाले गृहकार्यको व्यवस्था गरिएको बताए।

‘चाडपर्वमा विद्यार्थी रमाइलोतिर मात्र लाग्ने सम्भावना हुन्छ। त्यसैले बालविकासदेखि १० कक्षासम्मकै सबैलाई गृहकार्य दिएका छौँ। हाम्रो विद्यालयमा पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी अध्ययनरत छन्। लामो बिदापछि विद्यालय खुलेपछि शून्यबाट पढाउनुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले गृहकार्य दिएका हौँ,’ उनले भने।

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-६ जनचेतना आधारभूत विद्यालयकी बालविकास शिक्षक निर्मला वलीले भने आफ्ना विद्यार्थीलाई गृहकार्य नदिइएको बताइन्। तर विद्यालयले अभिभावकलाई सचेत बनाउने रणनीति अपनाएको उनले बताइन्। ‘सानातिना बालबालिकालाई गृहकार्य दिनुभन्दा अभिभावकलाई तालिम दिएर घरमै सिकाउने व्यवस्था गरेका छौँ। उदाहरणका लागि आलु काट्दा गीत गाउँदै बच्चालाई पनि सहभागी गराउने हो भने बच्चाले आलु गन्दै गणित, गीत र जीवनोपयोगी सीप एकैसाथ सिक्छन्। यसरी बालबालिकाले रमाइलोमै सिक्न सक्छन्,’ वलीले भनिन्।

कैलालीको गोदावरी नगरपालिकास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयकी बालविकास शिक्षक लक्ष्मी भट्टले विद्यालयले बालबालिकाका लागि विशेष कपी उपलब्ध गराएको बताइन्। उनले भनिन्, ‘बालबालिकाले चाडबाडका गतिविधिमा रमाइलो पनि गर्नुपर्छ। त्यसैलाई पढाइसँग जोड्ने उद्देश्यले लाइन तान्ने, रङ भर्ने, चंगा बनाउने वा तिहारमा माला तयार गर्ने काम गरेर आउन भनेका छौं। यसरी उनीहरूले रमाइलो र सिकाइ दुवैसँग जोडिन सकून् भन्ने हाम्रो उद्देश्य हो।’

धादिङको गल्छी-६ बागेश्वरी माध्यमिक विद्यालयकी बालविकास शिक्षक माया न्यौपानेले विद्यालय १५ दिनका लागि मात्र बिदा भएको बताइन्। उनले बालबालिकालाई ‘ह्यान्डराइटिङ बुक’मार्फत गृहकार्य दिएकी छन्। ‘मैले सुरुमा होमवर्क नदिने भनेकी थिएँ। तर अभिभावकहरूले नै बच्चाहरू पढ्नै खोज्दैनन् भनेर आग्रह गर्नुभयो। त्यसपछि गृहकार्य दिएँ। अहिले बालबालिकालाई ह्याण्डराइटिङ बुकमै अभ्यास गर्न भनेकी छु,’ उनले भनिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast