
काठमाडौँ- एसवाई प्यानल लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न लागेको हो।
कम्पनीले धितोपत्र बोर्डबाट ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएकोमा पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका लागि २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ०९२ कित्ता सेयर छुट्याइएको हो ।
आवेदकले न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
उद्योग प्रभावित क्षेत्रका बासिन्दाले रत्ननगर चितवनस्थित कार्यालय, प्रभु क्यापिटल र प्रभु बैंकका शाखा तथा अनलाइनमार्फत आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्पूर्ण आस्वा सदस्य बैंक, वित्तीय संस्था तथा मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।