
काठमाडौँ- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले किताब बेचिरहेको मान्छेलाई अर्पझट मन्त्री बनाइदिएकाले अहिले नै यो काम गर्छु भन्ने योजना नरहेको बताएका छन्। शीतल निवासमा सोमबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले विज्ञको सल्लाहसुझावअनुसार आफू अगाडि बढ्ने बताए। मन्त्री पुनले मन्त्रीका रूपमा कुनै पनि सेवासुविधा नलिने पनि बताए।
उनले भने, ‘अपर्झट मन्त्री भइएको छ। राजनीति क्षेत्रबाट अनुभव लिएर आएको भए मैले यो यो काम गर्छु भनेर अहिले नै भन्न सक्थेँ। किताब बेच्दै गरेको मान्छेलाई अपर्झट मन्त्री बनाइदिए पछि अहिले नै तपाईँहरूले केही नसोध्नुहोस्। विज्ञहरूबाट सल्लाहसुझाव माग्छु। को को सुझाव दिन आउला? सुझाव दिन त राम्रा पनि आउलान् नराम्रो पनि आउलान्। राम्रो मान्छेको राम्रो सुझाव लिएर छिटोछरिटो कार्यान्वयन गर्छु।’
मन्त्री पुनले आफ्नो प्राथमिकतामा विज्ञान, प्रविधि, नवप्रवर्तन, अनुसन्धान रहने बताए। उनले भने, ‘विज्ञान, प्रविधि, नवप्रवर्तन, अनुसन्धान मेरो प्राथमिकता हो। यत्तिले मात्रै पुग्दैन। त्यसमा त शिक्षा पनि जोडिएको छ। त्यसकारण शिक्षामा के गर्न सकिन्छ म अहिले बताउन चाहन्न।’
अब निःशुल्क शिक्षा हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा डा.पुनले भने, ‘हरे! म मन्त्री हुँदैमा कसरी निःशुल्क शिक्षा दिने? म भगवान् हो र? केही न केही गरौँला। पत्रकारहरूले नपेल्नु न।’ उनले आफू मन्त्रालयभित्रै खाने र त्यहीँ सुत्नेसमेत बताए। उनले भने, ‘मन्त्रालयभित्र किचन होला। त्यही पकाउने, खाने। सुत्ने।’