
काठमाडौँ- सभामुख देवराज घिमिरे अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोहमा सहभागी भएका छन्। शीतल निवासमा सोमबार आयोजित शपथ ग्रहण समारोहमा घिमिरे सहभागी भएका हुन्। निर्दलीय सरकारले सोमबार थप चारजना मन्त्रीको शपथ गराउँदै छ। शपथ गराउन लागिएका मन्त्रीहरूमा महावीर पुन, जगदीश खरेल, डा. मदन परियार र अनिलकुमार सिन्हा छन्। पुनले शिक्षा मन्त्रालय, खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परियारले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि घिमिरेले प्रधानमन्त्री सुशीला कार्की र तीन मन्त्रीहरूको शपथमा सहभागी भएका थिएनन्।
भदौ ३० मा आयोजित नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह बहिष्कार गरेका थिए। शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल भने उपस्थित थिए।
यसअघि घिमिरेले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोह पनि बहिष्कार गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि बनेको राजनीतिक परिस्थितिमा भदौ २७ गते कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। शपथ ग्रहणलगत्तै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेकी थिइन्।
भदौ ३० गते अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकासमन्त्रीमा कुलमान घिसिङले राष्ट्रपति पौडेलबाट शपथ लिएका थिए।
संविधानको धारा ९१ ६ (क) मा प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहने व्यवस्था छ।