चाडपर्व मनाउन काठमाडौँबाट करिब दुई लाख यात्रु बाहिरिए

हिमाल प्रेस ६ असोज २०८२ १३:१९
10
SHARES
चाडपर्व मनाउन काठमाडौँबाट करिब दुई लाख यात्रु बाहिरिए

काठमाडौँ- चाडपर्व मनाउन राजधानीबाट घर फर्किने यात्रुको चाप बढ्दै गएको छ। पछिल्ला पाँच दिनमै काठमाडौँ उपत्यकाबाट एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक सवारीमार्फत उक्त संख्याका यात्रु विभिन्न गन्तव्यतर्फ प्रस्थान गरेका हुन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकेन्द्रसिंह गुरुका अनुसार उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका क्रममा बसोबास गर्दै आएका सर्वसाधारण चाडपर्व मनाउन क्रमशः थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकामार्फत घरतर्फ गएका हुन्।

कार्यालयको तथ्यांक अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

यस वर्ष भने सडकको बिग्रिएको अवस्थाले यात्रुहरूलाई थप समस्या निम्त्याएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार वर्षासँगै राजमार्गमा पहिरो जाँदा बसहरू घण्टौँसम्म बाटोमै रोकिनु परेको छ। ‘मुग्लिङ-नारायणघाट सडकखण्डमा पहिरोका कारण आवतजावतमा ठूलो कठिनाइ भएको छ जसले गर्दा काठमाडौँमा बस ढिलो आइपुग्दा यात्रुलाई समयमै गन्तव्य पठाउन गाह्रो भइरहेको छ,’ उनले भने। अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन उनले सरकारसँग आग्रह समेत गरे।

त्यसैगरी, राजधानीको गोंगबुस्थित नयाँ बसपार्कमा पनि यात्रुको चाप दिनानुदिन बढ्दो छ। नयाँ बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लका अनुसार सामान्य दिनमा चार–पाँच हजारजति यात्रु बाहिरिने गरेकामा हाल दैनिक १५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कमार्फत उपत्यकाबाट बाहिरिँदैछन्।

प्रकाशित: ६ असोज २०८२ १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast