
‘आमा, त्यो आउँछ र?
हो, बा, त्यो आउँछ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ।
त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ
त्यसैले ऊ अधर्मसित लड्नेछ!
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ।’
प्रस्तुत कवितांश गोपालप्रसाद रिमालद्वारा रचिएको निकै प्रसिद्ध र लोकप्रिय सिर्जना ‘आमाको सपना’ भन्ने कविताको हो। आमाको सपना गोपालप्रसाद रिमालद्वारा रचना गरिएको एक उत्कृष्ट क्रान्ति कविता हो।पहिलोपटक २००० सालमा शारदा पत्रिकामा प्रकाशित यो कवितालाई २०१९ सालमा ‘आमाको सपना’ कवितासंग्रहमा समावेश गरी प्रकाशित गरिएको थियो। उनको यो कवितासंग्रहका लागि २०१९ सालको मदन पुरस्कार प्रदान गरिएको थियो। गोपालप्रसाद रिमाल (वि.सं. १९७५-२०३०) नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा परिचित छन्। गोपालप्रसाद रिमाल अन्याय, अत्याचार, शोषण, दमन, विकृति र विसंगतिविरुद्ध क्रान्ति र विद्रोह हुनुपर्छ भनेर मान्यता राख्ने एक क्रान्तिकारी कवि हुन्।
गोपालप्रसाद रिमालले शास्त्रीय छ्न्दमा कविता लेख्ने परम्परालाई तोडेर मुक्त छन्दमा कविता लेखेका हुनाले उनी प्रथम गद्य कविका रूपमा परिचित छन्। आमाको सपना आशावादी भाव जगाउने एक उत्कृष्ट क्रान्ति कविता हो। उनले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि अब कसैले रोक्न सक्दैन, परिवर्तन अवश्य हुन्छ भनेर यस कवितामार्फत उद्घोष गरेका थिए।
रिमालले भनेजस्तै नेपालमा २००७, २०३६, २०४६, २०६२/०६३ सालमा शासकहरूको अन्याय र अत्याचारविरुद्ध ठूल्ठूला आन्दोलन र विद्रोहबाट व्यवस्था परिवर्तन त भए जनक्रान्तिबाट प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र पनि आए। तर यी प्राप्त गरेका तन्त्रलाई नेतृत्व गरी जोगाउने, बचाउने, हुर्काउने र एउटा समृद्ध मुलुक बनाउने कुशल नेतृत्व नेपाल आमाले अझै पाउन सकेकी छैनन्। सोझा र कर्मयोगी नेपाली जनता आन्दोलन र विद्रोहका लागि मात्र साधन बने। जनताहरू राजनीतिक दलप्रति निकै विश्वस्त भए। तर दलहरू परिवर्तनका वाहक जनतालाई बेवास्ता, अपमान र अपहेलना गरी लोकतान्त्रिक व्यवस्थाको खिल्ली उडाउँदै देशमा भ्रष्टाचार र लुटतन्त्र मच्चाउन खप्पिस भए।
जनताको प्रतीक्षाको घडी अत्यन्तै लामो भयो। दशकौँ समय बिते। २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएको ३६ वर्ष बितिसक्दा जनताले प्रजातन्त्र प्राप्तिको खासै अनुभूति गर्न पाएनन्। प्रजातन्त्र र समाजवादउन्मुख भनेर संविधान बनाइयो तर प्रजातान्त्रिक वातावरण हुन सकेन। अब त होला कि भनेर पर्खँदापर्खँदै २००७ सालमा प्रजातन्त्रसँगै जन्मिएका पुस्ताका नातिनातिनी पुस्तासमेतको यौवन गुम्दा प्रजातन्त्रको अनुभूत गर्न पाएनन्। देशको स्थिरता र समृद्धको आशा गर्दागर्दै अहिलेको डिजिटल पुस्ताले देश समृद्ध हुने संकेत पाउन सकेनन्। जनता केवल निर्वाचनका लागि मतमा मात्र सीमित बनाइए।
नेपाल देश सीमित व्यक्तिको व्यक्तिगत कम्पनी जस्तो बनाइयो। राजनीतिक दलहरूले सपना र आश्वासनका पोका मात्र बाँडे। नेपालीलाई विदेश जान बाध्य पारी उनीहरूबाट आएको रेमिट्यान्सबाट देशमा लोकतन्त्रका नाममा लामो समयसम्म लुटतन्त्र मच्चाइयो। जनताले जतिसुकै कराउँदा, चिच्याउँदा, आक्रोश पोख्दा दलहरू सच्चिएनन् र सुध्रिएनन्। नेपालको सम्पूर्ण राज्य संरचना विकृत राजनीतिको कब्जामा पुग्यो। राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण भयो। न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका, कर्मचारी प्रशासन, सुरक्षा संयन्त्र, विश्वविद्यालय आदि राज्यका सम्पूर्ण अंग निष्क्रिय हुँदै गए, बेकाम र अविश्वनीय हुँदै गए। देशका दक्ष युवा जनशक्ति रोजगार र शिक्षा प्राप्तिका लागि बिदेसिँदा नेपालका गाउँ र सहर रित्तिए। नेपाल खोज्न विदेशतिर जानुपर्ने परिस्थिति सिर्जना हुन थाल्यो। जनतामा निराशैनिराशाका भकारी बढ्दै गए। वास्तवमा देशमा अनियमितता, कुशासन, भ्रष्टाचारले चरमोत्कर्ष रूप लियो।
नेपालको यो दुरावस्था, भ्रष्टाचार र कुशासनलाई नवीन पुस्ताले लामो समयसम्म टुलुटुलु हेर्न सकेनन् र २०८२ भदौ २३ गते उनीहरूभित्रको ज्वाराभाटा विस्फोट भयो र विद्रोहका रूपमा देखा पर्यो। देशमा भ्रष्टाचार अन्त्य र सुशासनका लागि आन्दोलनमा उत्रिएका निहत्था यी नवीन पुस्तालाई राज्यपक्षबाट बर्बर तरिकाले ताकीताकी गोली बर्साइयो। यस विद्रोहमा ठूलो जनधनको क्षति भयो। नवीन पुस्ताले नेतृत्व गरेको आन्दोलनमा भदौ २४ मा घुसपैठ पनि भयो। वर्षौँसम्म सत्ता कब्जा गरेर बसेका नेतृत्वहरूचाहिँ भागाभाग भए। नवीन युवा पुस्ताको विद्रोहबाट अत्तालिएर र डराएर सरकार भाग्यो। सरकार भागेपछि नवीन पुस्ताको नेतृत्व गर्दै नागरिक तहबाट भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी छन्।
नेपालले इतिहासमै पहिलोपटक कार्यकारी तहमा नेतृत्व गर्ने महिला प्रधानमन्त्री पाएको छ। अब आशा छ, यी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा भएको निर्वाचनबाट देशले एउटा असल, साहसी, कुशल नेतृत्व पाउनेछ। हामी सबैले आग्रह गरौँ र भनौँ- प्रधानमन्त्री सुशीला कार्कीज्यू धैर्यको सीमा धेरै लामो भएको छ। तपाईँको शरीर स्वस्थ्य रहोस्। म वद्ध भएँ अथवा सकिनँ भनेर उम्किने अवस्था छैन। तपाईँले हिम्मत गर्नुपर्छ। अहिलेसम्म रहेको यो विकृत राजनीतिलाई अन्त्य गर्ने एउटा बाटो पहिल्याइदिनुस्। हामी सबै नेपालीले प्रण गर्नुपर्छ। अबको निर्वाचनमा निकै गम्भीर भएर मतदान गरौँ- आगामी फागुन २१ गतेको निर्वाचनपछि देशको नेतृत्व गर्न साँच्चै एउटा ऐतिहासिक कुशल सन्तान जन्मिनेछ। आशा गरौँ, यो प्रधानमन्त्रीको नेतृत्वबाट जन्मिने कुशल सन्तानले यो मुलुकको आमूल परिवर्तन गर्नेछ। हिजोको दिनमा रिमालको आशावादी स्वरलाई पूरा भएको अवसर मानी आगामी दिनमा नेपाल आमाले जन्माएकी एउटा कुशल सन्तानले देशको आमूल परिवर्तनसमेत गरेको कविता रच्न पाइयोस्। हो, आमा तिमीले भनेजस्तै समृद्ध मुलुक बन्यो नि भनेर लेख्न पाइयोस्।
नेपालको संविधान २०७२ अनुसार आवश्यकताको सिद्धान्तमा रहेर राष्ट्रपति रामचन्द्र पौडेलबाट २०८२ को भदौ २७ गते राति नयाँ नियुक्त भएकी प्रधानमन्त्रीको शपथ ग्रहणको अन्त्यतिरको एउटा दृश्य निकै भावुक र सन्देशपूर्ण मान्नुपर्छ। एउटा कर्तव्यनिष्ठ छोराले जसरी आफ्नी आमाको पाउमा शिर राखी साष्टांग दण्डवत् गर्छ त्यही तरिकाले जेनजी विद्रोहका प्रतिनिधि र नेतृत्वकर्ता सुदन गुरुङले सम्पूर्ण नेपालीहरूकी अभिभावक प्रधानमन्त्री सुशीला कार्कीको पाउमा आफ्नो शिर राखी प्रधानमन्त्री सुशीला कार्कीबाट आशीर्वाद माग्दै उनलाई आत्मबल र साहस बढाउन प्रेरित गरेका थिए। अहिले देश अत्यन्तै दुःखद भएको अवस्थामा विद्रोहका वाहक नवीन युवा पुस्ताहरूले रगतको आहालबाट हजुरआमासरहकी परिपक्व महिलालाई यो देशको साँचो सुम्पेका छन्। वर्तमान प्रधानमन्त्री पनि निकै साहस र आत्मबलका साथ जिम्मेवारीमा आएकी छन्।
यिनको इतिहास राजनीतिक आस्थामा स्वतन्त्र, स्वच्छ, निष्कलंक र सफा छ। देश र लोकतन्त्र बचाउनका लागि पनि आमनेपालीले धैर्यपूर्वक सुशीलाको यो सरकारलाई साथ दिनुपर्ने देखिन्छ। केही मानिसले भदौ २४ गतेको त्यो दर्दनाक र भयावह घटना बिर्सेर सरकार निर्माण प्रक्रियाका सवालमा संवैधानिक प्रश्न उठाउन थालेका छन्। कहिलेकाहीँ संविधानको धाराभन्दा पनि भावना र मर्म बुझेर काम गर्नुपर्ने रहेछ। राष्ट्रपतिले लोकतन्त्र बचाएर अत्यन्तै असहज परिस्थितिमा सरकार बनाएको स्पष्ट पारेकै छन्।
देशका दुई ठूला दलहरूले सरकार सञ्चालन गरिरहेको परिस्थितिमा सरकार सम्पूर्ण राज्य संयन्त्रलाई शून्य बनाई नेपाली सेनाको सहयोगमा जनतालाई सहाराविहीन बनाए। ती दुवै दलले सरकारमा रहँदा भागेको घटना बिर्सेर अब समाजमा भ्रामक खेल खेल्नु हुँदैन। देशको सम्पत्ति लुटेर सुनको धारामा पानी खान पल्केका भ्रष्टहरू वर्तमान जटिल परिस्थितिमा गाग्रीको सहायताले इनारकै पानी खाएर भए पनि देश बचाऊँ भन्दा अन्टसन्ट कुरा गरेर समाजलाई अलमल्यान र भ्रम पार्न खोजेको देखिन्छ। यी देश लुट्न पल्केकाहरूबाट जोगिनुपर्छ। आज कम्तीमा पनि देश बचेको छ, लोकतन्त्र बचेको छ। निर्वाचनमा भाग लिन पाउने र आफूले चाहेको जनप्रतिनिधि छान्ने जनताको सार्वभौम अधिकार बचेको छ। अब त यसैलाई भए पनि महत्त्वपूर्ण उपलब्धि मानी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण भएको छ।
जेनजीको माग भनेको देशमा सुशासन र भ्रष्टाचारीलाई तुरुन्त कारबाही गरिनुपर्छ भन्ने हो। तर कसैलाई कानुनी कारबाही गर्नु भनेको आजको भोलि सम्भावना गार्हो हुन्छ, त्यसको प्रक्रिया हुन्छ, पर्खिनुपर्छ। हो, नेपालमा सबै नेता भ्रष्टाचारी छन् भनिन्छ। हुन पनि होलान् वा सबै नहोलान् तर तिनका लागि यो सरकारले छानबिन प्रक्रिया जतिसक्दो छिटो सुरु गर्नुपर्छ। जेनजीको रगतको परिणामस्वरूप बनेको वर्तमान सरकारले भ्रष्टाचारमा आरोपित जति छन् ती सबैलाई जतिसक्दो छिटो कानुनी दायरामा लिई अनुसन्धानमा सुरु गर्नुपर्छ। लोकतन्त्रमा सरकारलाई कुनै व्यक्ति वा संस्थाप्रति रिस उठेको छ भन्दैमा सबै कानुन मिचेर तानाशाही शैली अपनाउन पाइँदैन।
समाजमा कसैको आक्रोशित मत पनि सुनिन्छ कि पुरानो सरकार जसरी गर्ल्यामगुर्लुम ढल्यो यही तरिकाले भ्रष्टाचारीलाई पक्डनुपर्छ र जेल कोच्नुपर्छ भन्ने छ तर यो तानाशाही शैली एकछिन त राम्रै देखिएला तर दीर्घकालमा त्यही अस्थिरताको ठूलो रोग बन्छ। यसकारण यसबेला मुलुक बचेको छ भन्ने कुरालाई आत्मसात् गरी आवेग र उत्तेजनामा नआई निकै विवेक र संयमता अपनाई यो देशलाई राजनीतिक निकास दिनुपर्छ। अहिलेको सरकार अन्तरिम सरकार हो। यसको पदावधि थोरै छ। त्यसैले यसले एकैपटक आजको भोलि सबै किसिमका समस्या समाधान गर्न सक्दैन भन्ने कुरा नेपाली जनताले बुझ्नुपर्छ। जनता अत्यन्तै निराश भएको हुनाले आशा गरिनु पनि स्वाभाविकै हो, यो सरकारले अत्यन्तै मितव्ययिता अपनाई जनताका सबै आशा पूरा गर्न नसके पनि देशलाई एउटा लय, थिति र विधिमा बसाल्नुपर्छ। सरकारले चाह्यो भने भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नसक्ने रहेछ भनेर जनतालाई यो सरकारले जसरी पनि विश्वासचाहिँ दिलाउनुपर्छ।
हो, देश यतिबेला साँच्चै एउटा जटिल र संक्रमणकालीन अवस्थामा छ। सार्वजनिक र निजी सम्पत्ति जलेर खरानी बनेका छन्। शोकलाई शक्तिमा बदलेर सम्पूर्ण भौतिक संरचना उभ्याउनुपर्नेछ। कमजोर र राजनीतिक प्रभावित राज्य संयन्त्रलाई स्वतन्त्र र बलियो बनाउनुपर्छ। पुराना दलले पनि निकै गम्भीर भएर सोची यो विद्रोह र परिवर्तनलाई सहजै स्विकार गर्न सक्नुपर्छ यदि उनीहरूले स्वीकार गर्न सकेनन् भने भविष्यमा अझै ठूलो मूल्य चुकाउनुपर्नेछ।
नेपाली कांग्रेस, एमाले, माओवादीलगायतका दलहरूले अझै पनि संविधानका कुरा गर्दै प्रश्न र विरोध गरिरहे भने तिनीहरूको अस्तित्व नामेट हुने निश्चित देखिन्छ। पुराना दलहरू जतिसक्दो छिटो आफ्नो प्रवृत्ति र शैलीलाई परिवर्तन गरी दललाई पुनर्गठन गरी निर्वाचनमा सहभागी हुनुपर्छ। नयाँ दलले र जेनजीहरूले समेत क्षणिक लोकरिझ्याइँका पछाडि मात्र नलागेर पुराना दलहरूलाई निषेध र प्रतिशोधको राजनीति गरिनुहुन्न। अब पनि पुराना दलहरू सच्चिएर फर्किएनन् भने आफैँ सकिन्छ्न्। वास्तवमा दलहरू बलिया हुँदा लोकतन्त्र बलियो हुन्छ। लोकतन्त्रमा सर्वोपरि संस्था भनेको जनता हो। अब बकम्फुस गफ गरेर,आश्वासनका पोका बर्साएर नवीन पुस्ताले मान्ने पक्षमा छँदै छैनन्। अहिलेको डिजिटल पुस्तालाई जसले हाताहाती दिन सक्छ त्यही टिक्छ, अरू स्वतः सकिन्छन्।
अधिकांशको यही संविधान र प्रणालीबाट निर्वाचन गराउँदा जेनजीको मागबमोजिम कसरी नयाँ जनप्रतिनिधिहरू आउन सक्छन् भन्ने प्रश्न अस्वाभाविक होइन। तर जेनजीको यति ठूलो विद्रोहलाई अझै पनि राजनीतिक दलहरूले अवमूल्यन गर्दै पुरानो प्रवृत्ति दोहोर्याउँछन् भने उनीहरूको अस्तित्व समाप्त हुन्छ। अहिलेकै संविधानलाई आधार मानेर फागुन २१ को निर्वाचन गर्न लागेकोले निर्वाचन प्रणाली पुरानै हुने देखिन्छ। वर्तमान सरकारले अहिलेको निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिन्छ कि भनेर उपाय खोज्नुपर्छ।
नेपालको जनसंख्या र भूगोलका दृष्टिकोणले जनप्रतिनिधिहरूको अहिलेको संख्या बढी देखिन्छ। समावेशी र समानुपातिकका नाममा टीके जनप्रतिनिधि बनाउने प्रणालीलाई सुधार गर्नुपर्छ। यो सरकारले यो प्रणालीलाई परिवर्तन गर्ने उपाय नभए आउने निर्वाचनमाबाट निर्वाचित हुने जनप्रतिनिधिलाई पर्खनुको विकल्प छैन। अब नेपाली जनताले पनि विगतबाट पाठ सिकेर निकै सजग र सचेत भई आगामी निर्वाचनमा जनताको भावना बुझ्ने, स्वच्छ छवि भएको, राजनीतिलाई सेवा ठान्ने, असल र कुशल व्यक्तिलाई जनप्रतिनिधिमा चुनौँ ताकि अहिलेको यो जेनजीको विद्रोहलाई उसले आत्मसात् गर्न सकोस् र सम्पूर्ण नेपालीको आशा र सपना साकार पार्न पनि सकोस्। [भर्जिनिया,अमेरिका]