एसिया कपको सुपर ४ को खेलमा पाकिस्तानमाथि भारतको सानदार जित

हिमाल प्रेस ६ असोज २०८२ ८:५२
एसिया कपको सुपर ४ को खेलमा पाकिस्तानमाथि भारतको सानदार जित

काठमाडौँ- भारतले एसीसी टी २० एसिया कपको सुपर फोरमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । जित्नलाई १७२ रनको लक्ष्य पछ्याएको भारतले १८.४ ओेभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका ओपनर अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रन बनाए। शुभमन गिलले २८ बलमा ८ चौकासहित ४७ रन बनाए । भारतलाई ओपनर शुभमन गिल र अभिषेक शर्माले ९।५ ओभरमा १ सय ५ रनको शतकीय साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए। फहिम अशरफले गिललाई बोल्ड गर्दैपाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए।

कप्तान सूर्यकुमार यादव डक र सञ्जु स्यामसन १३ रनमा आउट भए। तिलक बर्मा १९ बलमा २ चौका र २ छक्कासहित ३० र हार्दिक पान्ड्या ७ रनमा नटआउट रहे । पाकिस्तानका हरिस रौफले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । फहिम अशरफ र अब्रार अहमदले १-१ विकेट लिए।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।

पाकिस्तानका ओपनर शहिबजादा फरानले ४५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाएका थिए । इनिङको तेस्रो बलमै हार्दिक पान्ड्याको बलमा ठूलो सट खेलेका फरानको क्याच अभिषेक शर्माले खाता नखोल्दै डीप थर्डमा र ३२ रनमा डिपमिडविकेटमा क्याच छाडेका थिए । दुई क्याचको फाइदा उठाउँदै फरानले महत्वपूर्ण अर्धशतक प्रहार गरेका थिए ।

पाकिस्तानलाई ओपनर फखर जमान र शहिबजादा फरानले २.३ ओभरमा २१ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए। लगातार तीन खेलमा शून्यमा आउट भएपछि सैम अयुबको स्थानमा पाकिस्तानले फखरलाई ओपनिङमा ल्याएको थियो ।

तर फखरलाई थर्डअम्पायरले विवादस्पद आउट भए। हार्दिक पान्ड्याको बलमा एज लागेर विकेटकिपर सञ्जु स्यामसनले उनको क्याच लिएका थिए। तर बल पहिला जमिनमा लागेर किपरको गल्भ्समा गएको देखिएपनि अम्पायरले आउट दिएका थिए।

दोस्रो विकेटलाई सैम अयुब र फरानले ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै पाकिस्तानलाई बलियो योगफलको सम्भावना देखाएका थिए। शृयम दुबेको बलमा १७ बलमा १ चौका र १ छक्कासहित २१ र हुसेन तालत १० रनमा आउट भए। सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ९१ रन बनाएको पाकिस्तानले त्यसपछि भने रनको गति बढाउन सकेन। त्यो नै पाकिस्तानको हारको कारण बन्यो।

मोहम्मद नवाज १९ बलमा २१ रनमा आउट भए। फहिम अशरफले ८ बलमा १ चौका र २ छक्कासहित २० तथा कप्तान सलमान अली अघा १७ रनमा अविजित रहे।

भारतका शिबम दुबेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए। जस्प्रित बुमराहले ४ ओभरमा ४५ रन खर्चिदा विकेटविहीन बने । कुलदीप यादव र हार्दिक पान्ड्याले १–१ विकेट लिए। यसअघि समूह चरणमा पाकिस्तान भारतसँग ७ विकेटले हार्न पुगेको थियो।

सुपर फोरमा यसअघि पहिलो खेलमा शनिबार बंगलादेशले श्रीलंकालाई ४ विकेटले हराएको थियो। अब मंगलबार पाकिस्तान र श्रीलंका खेल्नेछन्। बुधबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। बिहीबार बंगलादेश र पाकिस्तान खेल्नेछन्। शुक्रबार भारत र श्रीलंका खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन्।

प्रकाशित: ६ असोज २०८२ ८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast