
भरतपुर- गएरातभर बन्द गरिएको मुग्लिङ-नारायणगढ सडक आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालन हुन थालेका छन्।
इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो।
पहिरोका कारण शुक्रबार साँझदेखि बन्द रहेको सडक आइतबार दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा आएको हो । सोमबार साँझ ८ बजे पुनः पहिरो खसेपछि पहिरो राति नै पन्छ्याइएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।
सडकखण्डमा सवारीसाधनको धेरै चाप रहेका कारण आफ्नो लेन प्रयोग गरेर मात्र यात्रा गर्न प्रहरी निरीक्षक सिंहले अनुरोध गरे । दुई दिनदेखि सडकमा अलपत्र परेका यात्रु गन्तव्यमा जान थालेका छन् ।
यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुने गर्दछन् । सडक दुईतर्फी सञ्चालन नहुञ्जेलसम्म यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।