
भदौ २३ र २४ गतेको दिन नेपालले इतिहासमै गम्भीर आघात भोग्यो। जेनजी पुस्ताको नाममा सुरु भएको आन्दोलनले मुलुकलाई हिंस्रक रूप दियो। प्रारम्भमा भ्रष्टाचार र सामाजिक सञ्जाल निष्क्रियताको विरोधका रूपमा सुरु भएको आन्दोलन बिस्तारै नियन्त्रणबाहिर गयो। नारा र प्लेकार्ड बोकेर सुरु भएको विरोध ज्वालामुखीझैँ भत्किँदै राजधानीदेखि ग्रामीण सडकसम्म फैलियो।
यस क्रममा ७४ जना युवाले ज्यान गुमाए। सिंहदरबार, सर्वोच्च अदालत, शीतल निवासजस्ता संवैधानिक र ऐतिहासिक संरचना आगोले ग्रस्त भए। नेताहरूको निजी निवासदेखि ठूला व्यापारिक भवनहरू खरानी बने। अर्बौँको सम्पत्ति ध्वस्त भयो। मुलुकको राजनीतिक भविष्य अन्योलमा धकेलियो। आन्दोलनपछिको परिस्थितिले तत्कालीन सरकार ढल्यो, अन्तरिम सरकार गठन भयो र उसलाई ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी दिइयो। तर तोकिएको मिति फागुन २१ मा चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्न अझै टड्कारो छ। यही अन्योल र अस्थिरतामै देश अहिले श्वास फेर्दै छ।
नेपालीको महान् चाड विजया दशमी नजिकिँदै छ। दसैँ सामान्यतया विजय, आशा र उत्सवको पर्व हो। तर यसपालि यो पर्व पीडा र निराशाबीच आएको छ।
नेकपा एकीकृत समाजवादीका नेता अम्मरबहादुर थापा हालको अवस्था नियाल्दै गहिरो चिन्ता व्यक्त गर्छन्। उनका आफ्नै जीवनमा पनि आन्दोलनको प्रत्यक्ष असर परेको छ। काठमाडौँस्थित उनको घर आन्दोलनकारीको आक्रमणमा पर्यो। झ्याल, ढोका, सामग्री ध्वस्त भए। २० लाख रुपैयाँ बराबरको क्षति भयो। उनी भन्छन्, ‘मेरो घर नष्ट हुँदा मलाई खासै चित्त दुखेको छैन। राष्ट्रको सम्पत्ति ध्वस्त हुँदा पीडा छ। देशलाई अहिलेको अवस्थामा ल्याउन ३० देखि ५० वर्ष लाग्छ।’
थापा युवाप्रति चिन्तित देखिन्छन्। ‘जेनजी पुस्ताका नाममा मुलुक ध्वस्त पारियो। राज्यले पनि उत्तेजना बढाउने वातावरण बनायो। तर अब युवापंक्तिलाई अनुशासन र उत्पादनतर्फ मोड्न सकिएन भने मुलुक कहिल्यै अघि बढ्दैन,’ उनी भन्छन्।
यो सबै निराशाबीच पनि उनी दसैँलाई आशाका पर्वका रूपमा लिन चाहन्छन्। ‘विजया दशमी हाम्रो उत्सव हो। यसलाई तडकभडक नभएर हार्दिकता र मर्यादासहित मनाउनुपर्छ। जे भयो, भयो। अब रुपान्तरणकारी भावनासहित अगाडि बढ्नुपर्छ,’ उनी भन्छन्।
सामान्य दसैँ, असामान्य परिस्थिति
यसपालि थापाको दसैँ सामान्य पारिवारिक वातावरणमै सीमित हुनेछ। खसी काटेर भोज गर्ने, ठूलाठूला जमघट गर्ने अवस्था छैन। उनी भन्छन्, ‘घरपरिवारसँगै बस्ने, आशीर्वाद दिने र संस्कृतिलाई निरन्तरता दिने मन छ।’ उनका दुई छोरा, एक छोरी, दाइका छोरा र ६-७ जना नातिनातिनासँगै सानो जमघटमै दसैँ मनाइनेछ।
थापाको दसैँमा टीका विशेष महत्त्व बोकेको छ। परिवारमा उनी नै जेष्ठ भएकाले दैलेखस्थित आफ्नो गाउँ भगवतीमाई पुगेर टीका लगाउने परम्परा छ। नगए उनलाई टीका लगाइदिने कोही छैन। सुर्खेतमा रहेका छोराछोरीसँग मिल्नुपर्ने हुन्छ। काठमाडौँमै भए उनी अध्यक्ष माधव नेपाल वा वरिष्ठ नेता झलनाथ खनालसँग पनि टीका थाप्ने गर्छन्।
गत वर्षको दसैँ उत्साहपूर्ण र खुसीपूर्ण थियो। तर यसपालि त्यो वातावरण छैन। थापा भन्छन्, ‘दसैँ भनेको हिन्दुहरूको महान् चाड हो, भेटघाट र मिलनको पर्व हो। अहिले त्यो खुसी हराएको छ। बुबाआमा भएको भए यस अवस्थाले मलाई देख्दा उहाँहरूलाई दुःख लाग्थ्यो होला।’
दैलेखको भगवतीमाई-१ पगनाथसँग उनको भावनात्मक सम्बन्ध अझै गहिरो छ। उनी सामान्य परिवारमा २०१२ माघ ११ गते जन्मिएका हुन्। बाल्यकालमा घाँस दाउरा काटेको, सामन्तसँग लडेको, त्यही ठाउँले राजनीतिमा उचालेको सम्झना उनलाई अझै जीवित छ। उनले गर्वसहित भन्छन्, ‘भगवतीमाई गाउँपालिकाको नाम पनि मैले नै प्रस्ताव गरेको हुँ।’
अधुरो सपना
थापा विघटित प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति हुन्। थापाको अर्को पीडा भनेको शिक्षा विधेयक अधुरो रहनु हो। संसद् विघटनसँगै उनले गरेको मेहनत खेर गयो। ‘५४ वर्षपछि शिक्षामा सुधार ल्याउने अवसर थियो। निजी विद्यालयका करिब चार लाख विद्यार्थीलाई छात्रवृत्ति दिने, विपन्न परिवारका दुई लाख बालबालिकालाई अवसर दिने योजना थियो। सरकारी विद्यालयलाई पुनर्जीवन दिने तयारी थियो। तर त्यो सबै शून्यमा गयो,’ उनी भन्छन्।
उनका अनुसार यो विधेयक खासगरी जेनजी पुस्ताको भविष्यका लागि तयार गरिएको थियो। तर आन्दोलनले देखाएझैँ, त्यही पुस्ता असन्तोषको केन्द्र बन्न पुग्यो।
सबै पीडा, निराशा र असन्तोषबीच पनि दसैँले अझै आशा बोकेको छ। थापा विश्वास गर्छन्, ‘उत्सवको अर्थ तडकभडक होइन, हार्दिकता हो। मनमा उत्साह भए सामान्य रूपमा पनि दसैँ मनाउन सकिन्छ।’