नवरात्र नजिकिएसँगै सिँगारिँदै काठमाडौँ उपत्यकाका शक्तिपीठ

हिमाल प्रेस ५ असोज २०८२ १२:४१
4
SHARES
नवरात्र नजिकिएसँगै सिँगारिँदै काठमाडौँ उपत्यकाका शक्तिपीठ

काठमाडौँ- नवरात्र नजिकिएसँगै काठमाडौँ उपत्यकाका शक्तिपीठ सिँगार्न थालिएको छ।

काठमाडौँ उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, चामुण्डामाईलगायत शक्तिपीठहरू झिलीमिली बत्तीसहित सिँगारिएका छन्। एक साताअघिदेखि यी मन्दिर क्षेत्रमा सिँगारिएका हुन्।

आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल नवमीसम्मका नौ रातलाई ‘नवरात्र’ भनिन्छ। नवरात्रमा काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

मैतीदेवी मन्दिर क्षेत्रमा नवरात्रको सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका काठमाडौँ महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए।

नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। यस अवसरमा घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गाको पूजा आराधना एवं दुर्गासप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ।

यस वर्षको नवरात्र असोज ६ गते सोमबारदेखि सुरु हुँदैछ । असोज १५ गते बुधबारसम्म नवरात्र रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।

नवरात्रभर पूजा, आराधना गरिएको देवीको प्रसाद असोज १६ गते विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमाका दिनसम्म ग्रहण गरिन्छ। विजयादशमीका दिनदेखि मान्यजनकहाँ टीका, प्रसाद एवं आशीर्वाद थाप्ने प्रचलन रहेको छ।

प्रकाशित: ५ असोज २०८२ १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast