
बुटवल– पत्रकार मनोरञ्जन शर्माको निधन भएको छ। शर्माको उपचारका क्रममा शनिबार बेलुकी ५ बजे रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा निधन भएको हो।
विगत दुई वर्षदेखि क्यान्सरबाट ग्रसित शर्मा भैरहवा क्षेत्रलाई आधार बनाएर साढे दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए। उनी कारोबार दैनिकमा लामो समयदेखि कार्यरत थिए भने भैरहवाबाट आफ्नै सम्पादनमा न्यूज ओके पत्रिका र अनलाईन सञ्चालन गर्दै आएका थिए।
यसका साथै अन्य थुप्रै सञ्चारमाध्यममा कार्यरत रहे। पाल्पाबाट पत्रकारिता गरेका ५२ वर्षीय शर्माको निधनले रुपन्देहीको पत्रकारितामा ठूलो क्षती पुगेको छ। शर्माकी श्रीमती, एक छोरी र एक छोरा छन्। पारिवारिक स्रोतका अनुसार शर्माको अन्तिम दाहसंस्कार स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा गरिनेछ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका सल्लाहकार समेत रहेका शर्मा, खेलकुद पत्रकारिता मञ्च लगायतका संस्थामा आबद्ध थिए।
शर्माको निधनप्रति लुम्बिनी प्रेस क्लबसहित विभिन्न संघ–संस्थाले दुःख व्यक्त गरेका छन्।