बुटवलमा मेला सञ्चालनका लागि उद्योगीका संस्थाबीच विवाद

विनोद परियार ४ असोज २०८२ २०:२१
18
SHARES
बुटवलमा मेला सञ्चालनका लागि उद्योगीका संस्थाबीच विवाद

बुटवल– जेनजी आन्दोलनपछि बजार सुस्ताएको बेला बुटवलमा भने आगामी पुसमा हुने मेलाका विषयमा व्यपारिक संस्थाहरुविच विवाद उत्पन्न भएको छ। गत पुस २२ गते नै पत्रकार सम्मेलन गरी तयारीमा जुटेको उद्योग व्यापार संघ, बुटवल र रुपन्देही उद्योग संघबीच मेला सञ्चालनका विषयलाई लिएरविवाद सुरु भएको हो।

बुटवलमा रहेका चार संस्था बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र उद्योग व्यापार संघले मेला आलोपालो गर्दै आइरहेकोमा दुई संस्थाबीच समझदारीमै आ–आफ्नो व्याख्या र तर्क गरेपछि एक आपसमा आरोप प्रत्यारोपमा उत्रेका छन्।

उद्योग व्यापार संघले आफूहरु कान्छो संस्था भएकाले तीन वटा संस्थाले आलोपालो गर्ने समझदारीको उल्लघन गरेको बताउँदै पत्रकार सम्मेलन गरी आगामी पुस ५ देखि १८ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला २०८२ गर्ने जनाएको छ।

संघले शनिबार पत्रकार सम्मेलनमार्फत १५ दिनअगाडि नै बुटवल मण्डपमा महोत्सवको ब्यानर राखिएको र ३० प्रतिशत तयारी भइसकेको भन्दै रुपन्देही उद्योग संघले आलोपालोलाई लत्याएर दम्भ देखाएको बताएको छ।

संघका अध्यक्ष विष्णु पाण्डेयले २०८१ पुस २२ गते नै महोत्सव गर्ने घोषणा गरी प्रदर्शनीस्थल समेत बुकिङ गरिसकेकाले समझादारीको पालना गर्नुपर्ने बताए।

‘२०७८ सालमा कोभिडपछि आफूहरुले मेला सञ्चालन गर्दा विवाद भएपछि चारवटा संस्थाबीच तत्कालीन मेयर शिवराज सुवेदीको नेतृत्वमा बैठक बसेर सहमती भएको हो,’ निवर्तमान अध्यक्ष गोविन्द गैरेले भने, ‘आफूहरुको पालोमा उद्योग संघले विवाद गर्नु राम्रो होइन।’

उद्योग व्यापार संघले २५० भन्दा बढी स्टल समेत बुकिङ भइसकेको जनाएको छ। संघका संस्थापक खिमनारायण पराजुलीले २/३ वटा संस्थाको दम्भले सबैभन्दा कान्छो संस्थालाई वाइपास गर्न खोजे आफूहरुले पनि अवरोध गर्ने चेतावनी दिए।

‘हामीले मेला गर्दा विवाद भएपछि अब कसले गर्ने भन्ने विवादमा सहमती भएको हो,’ उनले भने। उनले सहमतीको गलत व्याख्या गरेर कान्छो संस्थालाई मेला गर्न नदिए कडा प्रतिवाद गर्ने बताए।

यता रुपन्देही उद्योग संघले शनिबार बिहान पुस ३ गतेदेखि बुटवलमा १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने घोषणा गरेको छ। संघले यसअघि बुटवलका संघसंस्थाहरुबीच मेला सञ्चालन सम्बन्धमा गरिएको समझदारीअनुसार प्रदर्शनीका लागि शनिबार बोर्ड गाडेर औपचारिक सुरुवात गरेको जनाएको छ।

संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देही उद्योग संघले ४ दशकअघिबाट सुरुवात गरेको औद्योगिक प्रदर्शनी ब्राण्ड बनेको उल्लेख गर्दै यसअघि ०७८ सालमा यस क्षेत्रका व्यवसायिक संस्थाहरुबीच बसेर बुटवल उपमहानगरमा गरेको समझदारीअनुसार नै आफूहरुले महोत्सव गर्न लागेको बताए।

‘औद्योगिक प्रदर्शनी रुपन्देही उद्योग संघले ब्राण्ड गरेको इतिहास लुकेको छैन, हामीले हरेक वर्ष आफैँले यो गर्ने भनेका पनि छैनौँ, पूर्ववत समझदारीअनुसार पुसको प्रदर्शनी गर्ने पालो संघको हो, तत्कालीन समझदारीकर्ताले यो विषय हेरे प्रष्ट हुन्छ, तत्कालीन जनप्रतिनिधिसमेतको रोहबरमा गरिएको समझदारीअनुसार हामीले यसको प्रकृया अघि बढाएका हौँ’ उनले भने।

०७८ पुस १ गते तत्कालीन नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बैठक बसेर रुपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संगठनको नेतृत्वबीच बसेर समझदारी भएको थियो।

त्यतिखेरको समझदारीमा बुटवल उपमहानगरपालिका वडा न. ११ देवीनगरस्थित खुला मैदानमा मिति २०७८ पुस ८ गतेदेखि २० गतेसम्म उद्योग व्यापार संघ बुटवलले आवश्यक तयारी समेत गरिसकेको हुँदा कोभिड प्रोटोकलको अनिवार्य रुपमा पूर्ण पालना गर्ने गरी संघले नै मेला लगाउने र आगामि वर्षको पुस महिनामा आलोपालोमा मेला सञ्चालन गर्ने भनेर निर्णय गरिएको छ।

उक्त निर्णयमा देहायका संघसंस्थाहरुले भनी रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र बुटवल उद्योग बाणिज्य संघको नाम लेखिएको छ। उद्योग व्यापार संघको नाम नलेखिएको हुँदा रुपन्देही उद्योग संघले आफूहरुको पालो भन्दै आएको हो भने उद्योग व्यापार संघले आफूहरुले मेला सञ्चालन गर्दा विवाद भएर सहमति भएकाले चारवटाका बीचमा भएको सहमति भएकाले आफूहरुको पालो भन्दै आएको हो।

उद्योग व्यापार संघले प्रदर्शनी सञ्चालनका लागि सहरी विकास मन्त्रालयअन्तर्गत विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिबाट भदौमा अनुमतीका लागि पत्र पाएको छ। यी दुवै व्यापारिक संस्थाहरु पार्टीगत रुपमा विभाजित हुँदा पनि विवाद आएको बुझिएको छ।

रुपन्देही उद्योग संघमा एमाले निकट र उद्योग व्यापार संघ बुटवलमा नेकपा माओवादी निकट उद्योगी व्यापारीहरु आबद्ध रहेका छन्।

प्रकाशित: ४ असोज २०८२ २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast