दसैँ अवधिभर काठमाडौँ बाहिरिने सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्न निर्देशन

हिमाल प्रेस ४ असोज २०८२ १६:०६
44
SHARES
दसैँ अवधिभर काठमाडौँ बाहिरिने सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्न निर्देशन

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दसैँं अवधिमा काठमाडौँ बाहिर जाने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

शनिबार सिंहदरबारमा बसेको यातायात व्यवस्था विभाग, सुरक्षा निकाय, यातायात व्यवसायीलगायत सरोकारवाला निकायसँगको बैठकमा दसैँ अवधिमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्गमार्फतमात्र बाहिर जान दिने र दसैँपछि पुनः प्रवेशको व्यवस्था गर्न सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्देशन दिने निर्णय भएको हो।

मन्त्री घिसिङले अहिले सञ्चालनको अन्तिम तयारीमा रहे पनि दसैँलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्न निर्देशन दिइएको बताए।

त्यस्तै बुटवल–नारायणघाट सडक खण्डको दाउन्ने क्षेत्रमा दसैँ अवधिभर ठूला मालवाहक सवारीसञ्चालनमा रोक लगाउने निर्णय भएको छ भने देशभरका मुख्य सडकलाई स्तरोन्नति तथा सुधार गर्ने, पहिरोजस्ता विपद व्यवस्थापनका लागि आवश्यक सामग्री तथा उपकरण व्यवस्थापन गर्ने निर्णय भएको मन्त्री घिसिङले जानकारी दिए।

बुटवल–नारायणघाट सडक खण्डमा २४ घण्टा दुईतर्फी यातायात सञ्चालन गर्ने, नारायणघाट–मुग्लिन सडकको तुइन खोला क्षेत्रमा भएको अवरोध तत्काल हटाई सञ्चालनमा ल्याउने र तातोपानी नाकासम्मको मुख्य सडक दसैँअघि सञ्चालनमा ल्याउने गरी सडक विभागलाई निर्देशन दिने निर्णय पनि भएको उनले बताए।

बैठकले देशभरका सडक अवस्थाबारे २४ घण्टा निगरानी गर्न, आवश्यक समन्वय र व्यवस्थापनका लागि फोकल पर्सनसहित कन्ट्रोल रुम सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिने निर्णय गरेको छ। त्यस्तै नयाँ बसपार्कसहित मुलुकका विभिन्न राजमार्गमा सुरक्षा चुस्त बनाउन प्रहरी गस्ती बढाउने र अतिरिक्त प्रहरी परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री घिसिङले बताए।

बैठकले सार्वजनिक सवारी साधनलाई सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका तयार गरी छिट्टै मन्त्रालयमा पेस गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय समेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast