जापानी बर्बरताको बयान : ‘नानचिङ फोटो स्टुडियो’

अजय अलौकिक ४ असोज २०८२ १५:५५
20
SHARES
जापानी बर्बरताको बयान : ‘नानचिङ फोटो स्टुडियो’

चालु वर्ष चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासीवादविरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव हो। सन् १९४५ मा जापानलाई परास्त गर्न चीन सफल भएको थियो। यो ८०औँ विजयोत्सवलाई चीन र चिनियाँले विविध कार्यक्रम र माध्यमबाट मनाइरहेका छन्।

सेप्टेम्बर ३ तारिख बिहान चीनको राजधानी बेइजिङको थ्येनआनमन चोकमा चिनियाँ जनताको जापानी अतिक्रमणविरुद्धको युद्ध तथा विश्व फासीवादविरोधी युद्धमाथिको विजयको ८० औँ वार्षिकोत्सव समारोह भव्यतापूर्वक आयोजना गरिएको थियो।

सो क्रममा आयोजित सैनिक परेडले चिनियाँ सैन्यशक्ति प्रदर्शन, रक्षात्मक शक्तिको प्रदर्शन मात्रै होइन, विश्वशान्ति तथा एकताप्रति चीनको ढृढ इच्छा तथा अठोटको सन्देशसमेत दिएको छ। यसले अतीतको पीडा र बलिदानलाई मात्र सम्झनामा राखेको छैन, वर्तमान र भविष्यमा शान्तिप्रति चिनियाँको गहिरो प्रतिबद्धता पनि पुष्टि गर्दछ।

सो स्मृति समारोहलाई चीनका राष्ट्रपति सी चिनफिङले सम्बोधन गर्दै चीन एक महान् राष्ट्र भएको र कुनै हिंसादेखि नडराउने तथा आत्मनिर्भर र बलियो रहेको सुनाए। उनले चिनियाँ जनता इतिहासको सही पक्षमा र मानव सभ्यताको प्रगतिको पक्षमा दृढतापूर्वक उभिएका छन् भन्दै तिनीहरू शान्तिपूर्ण विकासको मार्गमा हिँड्दै मानवजातिको साझा भविष्य भएको समुदाय निर्माण गर्न सबै देशका मानिससँग हात मिलाएर काम गर्न तत्पर रहेको पनि व्यक्त गरे।

‘आज हामी चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासीवादविरोधी युद्धमाथिको विजयको ८० औँ वार्षिकोत्सव मनाउन जुटेका छौँ। साथै इतिहासलाई सम्झन, सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न, शान्तिलाई प्रेम गर्न र भविष्यको सिर्जना गर्न जुटेका छौँ’, सीले भने।

चीनले यस सैनिक परेडको आयोजना इतिहासको सम्झना, सहिदप्रति सम्मान, विश्वभर शान्तिको कामना र सुखद भविष्यको सिर्जनातर्फ लक्षित रहेको छ। त्यस समयको आक्रमण र पीडा समस्त चिनियाँका लागि दुःखद सम्झना हुन्। सहिदहरूको बलिदान तथा प्रतिरोध एक अमूल्य आध्यात्मिक सम्पत्ति हो। यस सैन्य परेडले इतिहासको सम्झना र राष्ट्रिय भावना बढाउने छ।

सन् १९३१ देखि जापानले चीनमाथि अतिक्रमण तथा आक्रमण थालेको थियो भने सन् १९३७ को जुलाई ७ तारिखमा पहिलोपटक जापानी आक्रमणविरूद्ध चिनियाँ नागरिक तथा सेनाले प्रतिवाद गरेको थियो। यहीँबाट सुरु भएको चिनियाँ प्रतिकार लगातार आठ वर्षसम्म चल्यो र अन्ततः सन् १९४५ सेप्टम्बर ३ मा चीनले जापानलाई परास्त गरेको थियो। यस अवधिमा जापानीहरूले चिनियाँहरूमाथि अत्यन्त क्रूरता प्रदर्शन गरेका थिए। यस लामो युद्धमा अंगभंग र मृत्यु हुने चिनियाँको संख्या तीन करोड ५० लाख नाघेको थियो।

यसरी चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवमा सैनिक परेडबाहेक, चीन र चिनियाँ जनताहरूले विभिन्न तरिका र माध्यमबाट मनाइरहेका छन्। र ती माध्यममध्ये एक चलचित्र पनि हो।

जुलाईको अन्त्यतिर रिलिज भएको जापानी बर्बरतासम्बन्धी एक चलचित्रले चिनियाँ बक्स अफिसमा तहल्का पिटिरहेको थियो। फिल्मको नाम हो, नानचिङ फोटो स्टुडियो।
संयोगवश, यो पङ्क्तिकार कार्यरत चाइना मिडिया ग्रुपले (सो ग्रुपमातहतको सीजीटीएन नेपाली सेवामा कार्यरत) विदेशी विशेषज्ञहरूलाई फिल्म प्रदर्शनको व्यवस्था मिलाएको थियो। तर एक हप्ता बीच स्वदेशमा धेरै ठूलो घटना घटिसकेको थियो।

यो फिल्म हेर्ने बेलामा आफ्नो मातृभूमिको अवस्था शून्यजस्तो थियो। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देशमा सत्ता ढलेको अवस्था थियो। बेइजिङमा एकातिर नेपाली युवाहरूको बहादुरीप्रति प्रशंसा गर्ने विदेशी साथीभाइ पनि थिए भने यो घटनालाई शक्तिशाली राष्ट्रको खेलका रूपमा लिने पनि थिए।

आफ्नो भने शान्तिपूर्वक जेनजी आन्दोलनमा १९ जना विद्यार्थीलाई गोली दाबेको कारणले मन रसाएको स्थिति थियो। आजका दिनसम्म सो आन्दोलनमा ७२ जनाको मृत्यु भइसकेको छ। त्यसमाथि २४ गतेको चारैतिरको विध्वंसले ती सुन्दै आएको कन्सपिरेसी थ्योरी र भूराजनीतिक चपेटामा परेको भन्ने लागिरहेको थियो।

नेपाली युवाको जोसभन्दा पनि यही भूराजनीतिक खेल चलायो भन्ने नै हुन थालेको थियो। त्यसमाथि एक युरोपेली साथीले सुनाउँदै थिए, यस्ता घटना युरोपका धेरै देशमा भइसकेका छन्, यो फेल्ड स्टेट बनाउने षड्यन्त्र हुनसक्छ।

फेल्ड स्टेट अर्थात् असफल राज्य भन्नाले ती देशहरू जसले आफैँलाई शासन गर्नसक्ने क्षमता गुमाएका हुन्छन् र राज्य अधिकारको पतन, आधारभूत सेवाहरू उपलब्ध गराउन असमर्थ र बढ्दो अशान्ति र असुरक्षाको अवस्था हुनु हो। अर्थात् असफल राज्य त्यो हो, जसले यसको आधारभूत सुरक्षा तथा विकास गर्न सक्दैन र आफ्नो क्षेत्र र सीमाहरूमा प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्दैन। त्यसपछि बाह्य सैनिक भित्रिने कुरा रह्यो।

यस्तो हल्ला त धेरै वर्षदेखि सुन्दै आएको हो। यसपटक झण्डै यस्तैयस्तै पो हो कि भन्ने शंका गर्न सकिने ठाउँ पनि उपलब्ध गरायो। ती साथीको कुरासँगै बंगलादेशको चित्र मानसपटलमा घुम्न थालेको पनि थियो।

साथै नेपालको बजार, व्यवसाय तथा भौतिक संरचनामा भएको क्षतिले चिनियाँ तथा विदेशी लगानी सहज रूपमा भित्रिएला त भन्ने अर्को प्रश्न पनि उब्जिएको छ। अहिले अन्तरिम सरकार गठन भइसकेको अवस्था छ। आशा छ, अब देश भ्रष्टाचारमुक्त र समृद्धको बाटोतर्फ लाग्नेछ।

यसरी देशको अवस्थाले मन अस्थिर बनिरहेको बेला विदेशी सैनिकले चीनमाथि गरेको अत्याचारसम्बन्धको फिल्मको अवलोकन पनि संयोग झैँ नै भयो, जहाँ जापानी सेनाको हस्तक्षेप र बर्बरता थियो।

केही दिनअघि मात्रै (भदौ २६ गते) नानचिङ फोटो स्टुडियो, (अंग्रेजी नाम, डेड टु राइट्स) फिल्म हेर्ने अवसर प्राप्त गरेँ। यो फिल्म नानचिङको नरसंहारमा आधारित छ, जुन इतिहासको सबैभन्दा पीडादायक र अविस्मरणीय त्रासदीमा एक हो, जहाँ ३ लाख चिनियाँलाई जापानीले मारेका थिए। जापानी सेनाले १३ डिसेम्बर १९३७ मा चीनको नानचिङ कब्जा गरेपछि चिनियाँ नागरिक र आत्मसमर्पण गरेका सैनिकको सामूहिक हत्या र बर्बरता मच्चाएको थियो, जुन नानचिङ नरसंहार (डिसेम्बर १९३७) जनवरी १९३८० को नाममा कालो इतिहास लेखिएको छ।

नानचिङ फोटो स्टुडियो एक युद्ध चलचित्र हो, जसले जापानी क्रूरता र नानचिङ अत्याचारको आतंकलाई चित्रित गरेको छ। यद्यपि, अरू युद्ध चलचित्रजस्तो रक्तपातपूर्ण र भयानक, डरलाग्दो दृश्य भने छैन। चलचित्रले मानव भावनाहरूलाई फोटो र फोटो स्टुडियोमार्फत उजागर गरेको छ। जसले गर्दा यो फिल्मलाई अझै सशक्त बनाएको छ।

यो चलचित्रको पटकथा उत्कृष्ट छ, घटनाहरूलाई फोटो र फोटो स्टुडियोको माध्यमबाट इतिहासका भयावह र विनाशकारी क्षणहरू देखाइएको छ। यसले हामीलाई जापानीको क्रूरताको र अँध्यारो इतिहासको सम्झना मात्रै गराउँदैन, जापानी दमनमाथि चिनियाँको विजय र शान्तिको इच्छा पनि दर्शाउँछ।

फिल्मलाई सन आओले निर्देशन गरेका छन्, भने लिउ हाओरान, वाङ छ्वानचुन, काओ ये र वाङ स्याओजस्ता अभिनेताहरूले अभिनय गरेका छन्। चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासीवादविरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा प्रदर्शन गरिएको यस फिल्मले १९३७ को नानचिङको पृष्ठभूमिमा जापानी सेनाको नानचिङ नरसंहारको समयमा लिइएको वास्तविक प्रमाणित तस्बिरमा आधारित छ।

नानचिङ घटना चित्रण गरिएको यो चलचित्र अतीतको सम्झना गराउँदै आक्रमण र युद्धले ल्याएको विनाशलाई देखाउन सफल छ। साथै अतीतका पाठहरूबाट यसले शान्तिको समर्थन गरेको छ। यसरी चीनको जापानी आक्रमणमाथिको विजयको ८० औँ वार्षिकोत्सव घृणा उत्पन्न गर्नका लागि होइन, इतिहासको सम्झना र भविष्यमा शान्ति सुनिश्चित गर्न र यस्ता दुःखदायी घटनाहरू फेरि नदोहोरियून् भन्ने दृढता पनि व्यक्त गरेको छ।

प्रकाशित: ४ असोज २०८२ १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast