
काठमाडौँ- फिल्म ‘गुन्यो चोलो’ की निर्देशक समुन्द्र भट्टले नेपालको ओस्कार समिति नै खारेज हुनेपर्ने माग गरेकी छन्। उनले नेपालकाे ओस्कार अवार्ड छनोट प्रक्रियामा त्रुटिपूर्ण निर्णय भएको भन्दै यस्ताे माग गरेकी हुन्।
उनले निर्णायक समितिमा रहेका एक सदस्य आफैं फिल्मको मिडिया को-अर्डिनेटरसमेत रहेको र अर्को सदस्य अमेरिकामा बसेर फिल्म नै नहेरी मूल्यांकनमा सहभागी भएको भन्दै खारेजीकाे माग गरेकी हुन्।
एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस अन्तर्गत अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल) ले ९८ औं ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा नेपालबाट फिल्म ‘अञ्जिला’ सिफारिस गरेको छ। केही समयअघि आवेदन खुल्ला आवेदनमा मिलन चाम्स निर्देशित ‘अञ्जिला’ र भट्ट निर्देशित ‘गुन्यो चोलो’ ले आवेदन दिएका थिए।
यसैकाे विराेधमा शुक्रबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन आयाेजना गरिएकाे थियाे। सम्मेलनमा उनले भनेकी छन्, ‘मैले ‘गुन्यो चोलो’ ओस्कारकै लागि बनाएको हाे। फिल्म मेकर पनि ओस्कारकै नोमिनेनेटलाई समय कुरेर फिल्म बनाए। हिन्दी र नेपाली गरी हलमा एक दर्जन बढी फिल्म लागिरहेकाे समयमा मैले किन रिलिज गर्थे र?’
आक्रोश शैलीमा उनले थपिन्, ‘अर्काे कुरा निर्णायक समितिमा रहेका एक सदस्य आफैं फिल्मको मिडिया को-अर्डिनेटरसमेत रहेछन्। अर्को सदस्य अमेरिकामा बसेर फिल्म नै नहेरी मूल्यांकन गर्न मिल्छ?’
‘अञ्जिला’ उत्कृष्ट कथा र प्रस्तुति भएकाे स्वीकार्दै अन्तर्राष्ट्रिय स्तरमा ‘गुन्यो चोली’ अझ मौलिक, सबल र प्रभावकारी हुने दाबी पनि गरिन्। यस्तो अभ्यासले नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रतिष्ठामै आँच पुर्याउने भएकाले चलचित्र विकास बोर्डमा आफूले उक्त समिति खारेज गर्न पत्रसमेत पठाएकाे बताइन्। बाेर्डलाई उनले निष्पक्ष, पारदर्शी र व्यवस्थित प्रक्रिया अपनाएर पुनर्विचार गर्नुपर्ने माग गरेकी छन्।
उक्त सम्मेलनमार्फत बाेर्डबाट यो विषयलाई गम्भीरतापूर्वक नलिए आफू ओस्कार फिल्म फेस्टिभललाई नै आधिकारिक इमेलमार्फत जानकारी गराउने चेतावनीसमेत दिएकी छन्।
विमल पौडेलको अध्यक्षतामा बनेको ओस्कार फिल्म छनोट गर्ने समितिकाे सदस्यमा मञ्जुकुमार श्रेष्ठ, लोकेन्द्र पराजुली ‘कपिल’, गौतम धिमाल, चिरञ्जीवी गुरागाईं र जीवन पराजुली छन्। सदस्य गुराँगाईं अहिले अमेरिका छन्।