
काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अन्तरिम सरकार गठन र संसद विघटन राष्ट्रपतिको स्वेच्छाले नभएको ठोकुवा गरेका छन्।
बीपी चिन्तन प्रतिष्ठानले शुक्रबार काठमाडौँमा आयोजना गरेको मौजुदा संविधान र यसका चूनौतीहरु विषयक कार्यक्रममा सिटौलाले आन्दोलनका क्रममा देशभर आगजनी भएको र सुरक्षा निकायसमेत पछि हटेको अवस्थामा राष्ट्रपतिको स्वेच्छाले अन्तरिम सरकार गठन र संसद विघटन नभएको बताएका हुन्।
उनले बाध्यता र परिवेशका कारण राष्ट्रपतिले अन्तरिम सरकार गठन र संसद विघटन गर्नुपरेको जिकिर गरे। अहिले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुन्छ भनेर सोच्नु मुर्खताबाहेक केही नहुने उनले बताए। सिटौलाले अहिलेको अवस्थामा जनताको सर्वोच्चता कायम गरेको संविधानलाई सबै मिलेर जोगाउनुपर्ने आवश्यकता देखिएको धारणा राखे।
त्यसका लागि सबै राजनीतिक दल र सरोकारवालाबीच बृहत् एकता गर्नुको विकल्प नरहेको उनको भनाइ छ।
उनले जेनजी आन्दोलनका नाममा संविधानविपरितको काम भएको स्पष्ट पारे। सिटौलाले पार्टीभित्र पनि वादविवाद नगरी जनतालाई सर्वोपरी राखेर काम गर्न सक्नुपर्नेमा जोड दिए।