
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उनकी पत्नी आरजु राणा देउवाबारे केही दिनयता सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्री भ्रामक रहेको स्पष्ट पारेको छ।
देउवाको सचिवालयले सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमबाट प्रसारित सूचना र समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो। सभापति देउवाको स्वकीय सचिव भानु देउवाले जेनजी आन्दोलनका क्रममा भएको लुटपाटका क्रममा देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएका, पैसाको सुरुङ रहेका कुराहरू कपोकल्पित र भ्रामक रहेको दाबी गरेका छन्।
‘विभिन्न सामाजिक सञ्जालमा घरभित्र रहेको अन्डर ग्राउन्ड ट्यांकीलाई विभिन्न अनुमान गरेर प्रचारप्रसार गरेको देखिएकाले उक्त पानी ट्यांकी रहेको स्पष्ट गर्दछु,’ भानुले विज्ञप्तिमा भनेका छन्, ‘जनमानसमा अपमानित गर्ने मनसायले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृश्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू युट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ।’
भदौ २४ गते डकैती शैलीमा मानिसहरू सभापति देउवाको निवासभित्र प्रवेश गरेर सांघातिक आक्रमण गरेको उनले उल्लेख गरेका छन्।
‘जेनजीको आन्दोलनलाई धमिलो बनाई आआफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न समूहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतंक सिर्जना गर्ने, राजनैतिक दलको कार्यालय र नेताहरूको निजी निवास आक्रमण गर्ने जस्ता आपराधिक क्रियाकलपा भएकोप्रति भत्र्सना गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘डकैतीको शैलीमा नेपाली कांग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा.आरजु राणा देउवालगायतमाथि सांघातिक आक्रमण भएको हो।’
स्वकीय सचिव भानुले सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनसायले बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार रहेको उल्लेख गरेका छन्।