‘नरसंहार’ बारे ओलीले भने- प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भयो

हिमाल प्रेस ३ असोज २०८२ १३:०७
50
SHARES
‘नरसंहार’ बारे ओलीले भने- प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भयो एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गतेको ‘नरसंहार’ मा प्रहरीले गोली नचलाएको दाबी गरेका छन्। भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल खुला गर्न भन्दै जेनजी युवाले गरेको आन्दोलनका क्रममा २३ गते राजधानीको नयाँ बानेश्वरमा केपी ओली नेतृत्वको सरकारले १९ जना युवाको नरसंहार गरेको थियो।

प्रहरीले विद्यालय पोसाकमा रहेर शान्तिपूर्ण आन्दोलनमा रहेका किशोरहरूलाई समेत टाउको र छातीमा ताकीताकी गोली हानेको थियो। प्रहरीले गोली हानेका दृश्यहरू भिडियो र तस्बिरहरूमा छरपस्ट रहे पनि ओलीले यस्तो दाबी गरेका हुन्।

ओलीले सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्न आदेश नदिएको दाबी गरेका छन्। साथै आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको ओलीको भनाइ छ। संविधान दिवसका अवसरमा शुक्रबार जारी शुभकामना सन्देशमा ओलीले भनेका छन्, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ।’

यसैगरी उनले आन्दोलनमा घुसपैठ भएको बताएका छन्। उनले भनेका छन्, ‘गत साता जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो, आह्वानकर्ताले भनेझैँ। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो।’

दुई दिनको उक्त आन्दोलनमा ७२ जनाको ज्यान गएको छ। सरकारी तथ्यांकअनुसार आन्दोलनका क्रममा मारिनेमा ५९ जना आन्दोलनकारी छन्। यसैगरी प्रहरीतर्फ ३ जनाको निधन भएको छ। कारागारबाट भाग्ने खोज्ने १० जना कैदी मारिएका छन्। घाइतेमध्ये १३४ प्रदर्शनकारीको उपचार भइरहेको छ। प्रहरीतर्फ घाइते भएका ५७ जना उपचाररत छन्। सरकारले ५९ आन्दोलनकारीलाई सहिद घोषणा गरेको छ।

घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले २३ गते नै राजीनामा दिएका थिए। सत्ताधारी नेपाली कांग्रेस र प्रतिपक्षी दलले पनि त्यतिबेला ओलीको राजीनामा मागेका थिए। तर ओलीले हठ जारी राख्दा मुलुकका धेरै संरचना खरानी भएको छ। सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतका संरचना ध्वस्त भएका छन्। अन्य सरकारी र व्यवसायिक संरचनामा तोडफोड, लुटपाट र आगजनीबाट खरानी बनेका छन्।  २३ गतेको नरसंहारपछि २४ गते विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले संसद् भवन, सिहंदरबार, सर्वोच्च अदालत, प्रहरी चौकी, नेताहरूको निवासमा आगजनी गरेका थिए।

राजधानीलगायत देशका प्रमुख सहरहरूमा सरकार विरोधी आन्दोलन बढ्दै गएपछि ओलीमाथि राजीनामा दिन दबाब बढेको थियो।  उनले २४ गते साँझ सर्वदलीय बैठक डाकेका थिए। यसबीचमा ओलीलाई देशका प्रमुख सुरक्षा निकायका अधिकारीहरूले आन्दोलनको पछिल्लो अवस्थाबारे ‘ब्रिफिङ’ गरेका थिए। ओलीले पदबाट राजीनामा दिनुपर्ने उनीहरूको सुझाव थियो। यद्यपि ओली राजीनामा दिने पक्षमा थिएनन्। त्यसपछि ओलीले आफ्नो सुरक्षा सुनिश्चित हुने सर्तमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

‘सुरक्षा निकायका प्रमुखहरूले नै सुरक्षा दिन नसक्ने बताएपछि मात्र उहाँ राजीनामा दिन राजी हुनुभएको हो’, ओली निकट एक अधिकारीले भने। ओलीलाई प्रधानसेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहितले राजीनामा दिन आग्रह गरेका थिए। ‘प्रधानमन्त्रीज्यूले सुरक्षा अधिकारीसँग आफ्नो शरीरको सुरक्षाको ग्यारेन्टी गर्दै राजीनामा दिनुभएको हो’, एक सुरक्षा अधिकारीले भने।

जेनजी प्रदर्शनकारीहरू बालुवाटार प्रवेश गर्न खोजेपछि बालुवाटारबाटै सेनाको हेलिकोप्टरमा भागेका ओली नेपाली सेनाको शिवपुरीस्थित ब्यारेकको शरणमा पुगेका थिए। २५ गते ओलीले जेनजी प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै लेखेको एउटा पत्र सार्वजनिक भएको थियो। तर उक्त पत्र ओलीले लेखका हुन् या अरू कसैले लेखेका हुन् भन्नेबारेमा आधिकारिक पुष्टि हुन सकेको छैन।

स्थिति साम्य हुँदै गएपछि ओली बिहीबार भक्तपुरको गुन्डुमा सरेका छन्। बालकोटस्थित उनको निजी निवास प्रदर्शनकारीको आगजनीबाट पूर्ण रूपले नष्ट भएपछि गुन्डुमा डेरा खोजिएको हो। पूर्वमन्त्री एवं एमाले नेता महेश बस्नेतले एमाले अध्यक्ष ओली गुन्डुमा डेरा लिएर बसेको सामाजिक सञ्जालमार्फत जनाएका छन्। संविधान दिवसका अवसरमा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओली देखिएनन्।

प्रकाशित: ३ असोज २०८२ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast