
काठमाडौँ- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणालीका रूपमा परिभाषित गरेकी छन्। जेनजी पुस्ताले उठाएका मागहरू नेपालीको साझा राष्ट्रिय एजेन्डा भएको बताइन्।
संविधान दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले हाल देखिएको जनआन्दोलन लोकतान्त्रिक मूल्य–मान्यता र संविधानले प्रत्याभूत गरेका अधिकारहरूमा पूर्ण रूपमा उत्रिन नसक्दा उत्पन्न भएको बताइन्।
‘जेनजी पुस्ताले उठाएका मागहरू रोजगारीको अवसर, गुणस्तरीय जीवन, सरकारका कार्यप्रणालीमा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचार अन्त्य, सुशासन र विकाससँग सम्बन्धित छन्,’ प्रधानमन्त्री कार्कीले भनिन्,‘यी मागहरू कुनै एक पुस्ताका मात्र होइनन्, सम्पूर्ण नेपालीको साझा राष्ट्रिय एजेन्डा हुन्।’
उनले संघीय गणतान्त्रिक शासन व्यवस्था, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र र सक्षम न्यायपालिका, कानुनी राज्य र सुशासनजस्ता लोकतान्त्रिक मूल्यप्रति दृढ रहन सबैलाई आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले आफू कुनै पदलोभका कारण होइन, देश संकटमा रहेको बेला परिवर्तन चाहने युवा पुस्ताको आग्रहलाई बेवास्ता गर्न नसकेर जिम्मेवारी सम्हालेको स्पष्ट पारिन्। उनले संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि सरकारलाई सत्ता हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको उल्लेख गरिन्।
संविधान दिवसलाई उनले सबै नेपालीको गौरव गर्ने दिनका रूपमा चित्रण गर्दै यसलाई केवल उत्सव मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने अवसरसमेत भएको बताइन्।