
काठमाडौँ- संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथ्यका रूपमा सहभागी भए भने अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका व्यक्तित्व उपस्थित रहे।
तर, यस वर्षको समारोहमा विगतमा जस्तै सबै पूर्वप्रधानमन्त्रीहरूको उपस्थिति भने देखिएन। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत शीर्ष नेता कार्यक्रममा सहभागी भएनन्। उनीहरूले आ-आफ्ना पार्टी कार्यालयमै संविधानको रक्षा र कार्यान्वयनका लागि खबरदारी गर्दै संविधान दिवस मनाएका छन्।
जेनजी आन्दोलनपश्चात उत्पन्न राजनीतिक परिस्थितिले यस वर्षको समारोहलाई पनि प्रभावित पारेको छ। विगतमा जस्तै सांस्कृतिक झाँकीलगायत विशेष प्रस्तुति राखिएको थिएन। तर नेपाली सेना र सुरक्षाकर्मीहरूले ब्याण्डमार्फत सांगीतिक प्रस्तुति दिएका थिए।
नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको थियो। लामो संघर्ष, बलिदान र विवादपछि दोस्रो संविधानसभाले तयार पारेको संविधान तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट घोषणा गरेका थिए। संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश दिए।