ओलीको वक्तव्य- देश बिग्रेको भाष्य खडा गरेर आक्रोश फैलाइयो, राष्ट्रिय प्रतीक खरानी बनाइयो, यो षड्यन्त्र हो

हिमाल प्रेस ३ असोज २०८२ ९:३९
50
SHARES
ओलीको वक्तव्य- देश बिग्रेको भाष्य खडा गरेर आक्रोश फैलाइयो, राष्ट्रिय प्रतीक खरानी बनाइयो, यो षड्यन्त्र हो

काठमाडौँ- निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा षड्यन्त्र गरी सिंहदरबारदेखि राष्ट्रिय प्रतीकसम्म खरानी बनाइएको बताएका छन्।

गत भदौ २३ र २४ गते देशभर भएको प्रदर्शनका क्रममा आक्रोशित भीडले सिंहदरबार, सर्वाेच्च अदालत, राष्ट्रपति निवास, नेताहरूका निवास, सरकारी कार्यालयमा आगजनी गरेको थियो। आन्दोलनमा ७४ जना युवाको मृत्यु भएको थियो। तीमध्ये अधिकांशलाई टाउको र छातीमा गोली लागेको थियो। यस घटनापछि ओली सरकार छाड्न बाध्य भएका थिए। पदबाट हटेपछि उनी सैनिक ब्यारेकमा ९ दिन बसेर हाल भक्तपुरको गुण्डुस्थित भाडाको घरमा बसिरहेका छन्।

आज संविधान दिवसको अवसरमा वक्तव्य जारी गर्दै ओलीले सिंहदरबारदेखि राष्ट्रिय प्रतीकसम्मलाई खरानी बनाइनुलाई ‘षड्यन्त्र’ को रूपमा टिप्पणी गरेका छन्। उनले संविधानमाथि ठूलो आक्रमण भएको पनि बताएका छन्। वक्तव्यमा उनले भनेका छन्,‘नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर निर्वाचित संविधानसभाबाट बनाएको संविधान जारी गरेको दिन हो आज। लोकतान्त्रिक गणतन्त्र, संघीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन हो। तर अहिले संविधान नै आक्रमणको अवस्थाबाट गुज्रिरहेको छ।’

प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सिंहदरबार, नेपालको नक्सा र राष्ट्रिय प्रतीकहरू जलाइएका घटनालाई ओलीले देशको निशानी मेटाउन खोजिएको षड्यन्त्रको संज्ञा दिएका छन्। उनका अनुसार जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका कार्यालय तथा नेताकार्यकर्ताको व्यक्तिगत सम्पत्ति समेत छानीछानी खरानी बनाइएको छ।

ओलीले घटनाका पछाडिका षड्यन्त्रबारे अहिले धेरै कुरा नगर्ने भन्दै समयले आफैँ स्पष्ट पार्ने दाबी गरे। उनले भने,‘हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो भन्ने भाष्य खडा गरेर आक्रोश मात्र फैलाइएको छ। यो नयाँ पुस्ताले आफैँ महसुस गर्ने छ।’ देशभित्र र बाहिर आवागमन अवरुद्ध हुँदा त्यसको दीर्घकालीन प्रभाव नयाँ पुस्ताले बुझ्ने दिन आउने उल्लेख गर्दै उनले सार्वभौमसत्ताबारे समयमै चेतना जगाउन आग्रह गरे।

युवाप्रति सन्देश दिँदै ओलीले इतिहासमा काजी भीम मल्ललाई दिएको मृत्युदण्डको उदाहरण प्रस्तुत गर्दै असन्तोषलाई यथार्थभन्दा बाहिर विस्तार गर्दा पछुताउनु मात्र पर्ने अवस्था आउने चेतावनी दिए। उनले भने, ‘पछुतोले मात्र बनिरहेको देशलाई झन्–झन् गाढा सम्झना गराउनेछ।’

प्रकाशित: ३ असोज २०८२ ९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast