
काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनले हालैको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका विद्यार्थी, सुरक्षाकर्मी र नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। संगठनका अध्यक्ष हंसबहादुर शाहीले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको नि:शुल्क स्वास्थ्य उपचार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
संगठनले आन्दोलन शान्तिपूर्ण रूपमा सुरु भए पनि पछि हिंसात्मक स्वरूप ग्रहण गर्दै देशभर सार्वजनिक सम्पदामा तोडफोड, लुटपाट र आगजनी भएकोप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा स्थानीय तहका पालिका भवन, प्रहरी कार्यालय, व्यवसायिक संस्थान, निजी घरसमेतमा आक्रमण हुँदा जनजीवन कष्टकर बनेको उल्लेख गरिएको छ।
यसक्रममा सुर्खेत जिल्ला समिति अध्यक्ष डिलाराम भण्डारी र काभ्रे जिल्ला सदस्य गीता साकोटा न्यौपानेको घर तथा झापाको शिक्षक सहकारीका कागजातसहित अन्य शिक्षकहरूको सम्पत्तिमा समेत तोडफोड र लुटपाट भएको बताइएको छ। यस्ता आपराधिक घटनाको घोर भर्त्सना गर्दै संगठनले तत्काल छानबिन आयोग गठन गरी संलग्न व्यक्तिलाई कानुनी कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारलाई जोडदार आग्रह गरेको छ।
त्यसैगरी, संगठनले युवाले आन्दोलनमार्फत उठाएका जायज मागको सम्बोधन गर्न, संविधानको रक्षा, विधिको शासन, मानव अधिकार, लोकतन्त्र र ट्रेड युनियन अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। साथै बाह्य हस्तक्षेपको विरोध गर्दै शिक्षकहरूलाई धैर्य रहन र शैक्षिक तथा सांगठनिक गतिविधि निर्वाध रूपमा सञ्चालन गर्न आह्वान गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै संविधानसम्मत सहकार्यमार्फत समस्याको समाधान खोज्नुपर्नेमा संगठनले जोड दिएको छ।