एक्लिए सीके

हिमाल प्रेस २ असोज २०८२ २१:४१
18
SHARES
एक्लिए सीके

काठमाडौँ- जनमत पार्टीका संस्थापकमध्येका एक इन्जिनियर दीपकुमार साह यतिबेला अध्यक्ष सीके राउतविरुद्धको अभियानमा जुटेका छन्। जनमतको स्थापनाअघि स्वतन्त्र मधेश गठबन्धन भएकै बेलादेखि दीपक अध्यक्ष सीकेका लागि बलिया खम्बा भएर उभिएका थिए।

केही समयअघिदेखि सीके र दीपकको सम्बन्ध चिसिएको छ। अध्यक्ष सीकेले पार्टीभित्र हुकुमी शैली देखाएको र परिवादको लोलुपमा फसेको आरोप लगाए। जनमतले स्पष्टीकरण सोध्दै उनलाई पार्टीबाट निष्कासन गर्‍यो।

सीकेको निशानमा पर्ने दीपक एक्ला संस्थापक नेता होइनन्। उनीसँग तत्कालीन कोषाध्यक्ष सुरेन्द्र यादव, केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारलगायतका नेताहरूमाथि सीकेले कारबाहीको डन्डा चलाउन लगाए।
स्पष्टीकरण हुँदै सुरु भएको उनीहरूमाथिको कारबाहीको शृंखला अन्ततः पार्टी निष्कासनमा पुगेर सकियो। स्पष्टीकरण सोधिएका दीपक, सुरेन्द्रहरू अध्यक्ष सीकेको गतिविधिविरूद्ध मधेश प्रदेशमा ‘संवाद यात्रा’ सुरु गरे। त्यस क्रममा उनीहरूमाथि जनमत पार्टीका कार्यकर्ताहरूले कालोमोसोसमेत छ्यापे।

संवाद यात्राकै क्रममा कारबाहीमा परेका जनमतका नेताहरूले पार्टीभित्र परिवारवाद मौलाएको र आन्तरिक लोकतन्त्र अन्त्य भएको आरोप लगाए। गल्ती गर्दा नेतृत्वको विरोध गर्ने अवस्थासमेत सकिएको उनीहरूको भनाइ थियो। पार्टी निर्माणमा भूमिका खेलेका पुराना नेताकार्यकर्तालाई बाइपास गरेर नयाँलाई स्थापित गर्न खोजिएको तर्क उनीहरूले गरेका थिए।

संवाद यात्रामै रहेका बेला जनमत पार्टीले दीपक, सुरेन्द्रहरूलाई निष्कासन गर्‍यो। अनि त्यो बेला पार्टी अध्यक्ष सीकेको बचाउ गर्न अग्रपंक्तिमा उभिएका थिए प्रवक्ता डा. शरदसिंह यादव।

यादवले कालोमोसो छ्याप्नेलगायतका गतिविधिलाई पार्टीले समर्थन नगरे पनि पार्टीविरूद्धको गतिविधिको प्रतिरोधस्वरूप भएको बताएका थिए। ‘यस्तो गतिविधिलाई पार्टीले समर्थन त गर्दैन। तर, अध्यक्ष र पार्टीविरूद्ध भइरहेका गलत कार्यको प्रतिकारस्वरूप कार्यकर्ताको प्रतिक्रिया हुनसक्छ,’ नेताहरूमाथि कालोमोसो छ्यापिकएको प्रक्रियामा यादवले भनेका थिए।

यो घटनामा मात्रै होइन नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँगको एकीकरणको विषय, पार्टी अथवा अध्यक्षविरूद्ध हुने हरेकखाले टिप्पणी र आलोचनालाई प्रतिवाद गर्न अग्रपंक्तिमा उभिने नेताहरूमध्ये एक थिए, प्रवक्ता यादव।

तर, अहिले तिनै प्रवक्ता यादवले पनि जनमत अध्यक्ष सीकेको साथ छोडेका छन्। उनले सीकेको मात्रै होइन जनमत पार्टी परित्याग गरेका छन्। यादव एक्लैले मात्रै होइन उनीसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, युवा संघका केन्द्रीय संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिमका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् तथा केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिँदै जनमत परित्याग गरेका हुन्।

नेतृत्वलाई राजीनामा दिई मार्गप्रश्स्त गर्न आग्रह गरे पनि उल्टै अहंकारपूर्ण भाषा प्रयोग गरेकोले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा गरेको उनीहरूले बताएका छन्।

‘…पार्टीको प्रमुख नेतृत्वलाई आत्मआलोचना गरी नेतृत्व परिवर्तनको निम्ति अल्टिमेटमसहित हामीले माग गरेको राजीनामा पत्रलाई तपाईँले अपहेलना गरी जेनजी पुस्ताले बगाएको रगतको अपमान गरी उल्टै नेता कार्यकर्ताहरूलाई अहंकारको भाषामा आफ्नो आधिकारिक फेसबुकमार्फत धारणा सार्वजनिक गरी सकेपछि हाम्रो ध्यानाकर्षण भएको छ। त्यसैलाई आधार मानी आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी हामी पार्टीबाट राजीनामा गर्दछौँ,’ संयुक्त राजीनामापत्रमा भनिएको छ।

पद स्वार्थको राजनीतिमा सामेल नभई नयाँ पुस्ताको चाहनाअनुरूप उनीहरूकै नेतृत्वमा सामेल भई सहयोग र सहकार्य गर्ने उनीहरूले प्रतिबद्धता जनाएका छन्। यसअघि बुधबार प्रवक्ता यादवलगायतका नेताहरूले अध्यक्ष पदबाट राजीनामा गरी मार्गप्रशस्त गर्न अध्यक्ष सीकेलाई २४ घन्टे अल्टिमेटम दिएका थिए।

जनताको अथक भरोसा र समर्थनले जनमत पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिलाएको भए पनि पछिल्लो समय पार्टीको शीर्ष नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको उनीहरूले आरोप लगाएका थिए।

त्यस्तै उनीहरूले पार्टीको समग्र हित, राजनीतिक विश्वसनीयतालगायतका लागि पार्टी अध्यक्ष सीके र संगठन विभाग प्रमुख जयकान्त राउत (सीकेका दाइ) लाई २४ घन्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिन अनुरोध गरेका थिए।

‘पार्टीको समग्र हित, राजनीतिक विश्सनीयता र जनआस्थाको पुनःस्थापनाका लागि नेतृत्व परिवर्तन अपरिहार्य भएको निष्कर्षमा पुग्दै हामी निम्न हस्ताक्षरकर्ताहरू पार्टीका जिम्मेवार पदाधिकारीहरूको हैसियतले जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतज्यू र संगठन विभाग प्रमुख डा.जयकान्त राउतज्यूले २४ घन्टाभित्र आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौँ,’ यादवलगायतका नेताहरूले अध्यक्ष सीकेलाई बुझाएको पत्रमा भनिएको छ।

अध्यक्ष सीके र संगठन विभाग प्रमुख जयकान्तले मार्गप्रशस्त गरे पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्थामा रुपान्तरण गर्ने अभियानमा आफूहरू एकजुट भइ लाग्ने उनीहरूले प्रतिबद्धता जनाएका थिए।

सीकेले भने पदबाट राजीनामा नदिने भन्दै पार्टी छोड्ने धम्की दिएकाहरूलाई बाहिरिन आशय व्यक्त गरे। पार्टीमा उकुसमुकुस लागे, अनुशासनमा बस्न नसकिने भए पार्टी छोडेर जान उनले प्रतिक्रिया दिए।

‘यो राम्रो मौका हो पार्टी छोड्न, यदि कसैलाई पार्टीमा उकुसमुकुस लागिरहेको छ, अनुशासनमा बस्न सकिँदैन, एउटै पार्टीमा बस्दाबस्दै वाक्क लाग्यो र नयाँ पार्टी रोज्न वा खोल्न चाहनु हुन्छ, पार्टीमा नै बसेर दिनरात पार्टीको विरोध गर्नुपरेको छ, भित्रभित्रै पार्टीलाई खोक्रो बनाउनु परेको छ भने, योभन्दा राम्रो मौका आउने छैन। किनकि अहिले कुनै बहाना पनि चाहिँदैन। जेनजी आन्दोलन छ, युवाहरूको रापताप छ,’ सीकेले सामाजिक सञ्जालमा लेखेका थिए।

उनले पार्टी नै छोड्ने भए केन्द्रीय सचिवालय तथा केन्द्रीय सदस्यदेखि जिल्ला, पालिका र वडासम्ममा पदाधिकारी, नेता र कार्यकर्तालाई सामूहिक रूपामा राजीनामा दिन भनेका छन्।

‘केन्द्रीय सचिवालय तथा केन्द्रीय सदस्यदेखि जिल्ला, पालिका र वडासम्ममा जति पनि पदाधिकारी, नेता र कार्यकर्ता छोड्न चाहनुहुन्छ, कृपया एकैपटक सामूहिक रूपमा छोड्नुहोला ताकि तपाईँहरू मिलेर कुनै एउटा बाटो रोज्न सक्नु हुन्छ, अगाडि बढ्न सजिलो हुनेछ।’ सीकेले लेखेका छन्।

नेतृत्व परिवर्तनको सन्दर्भमा उनले चैतमा महाधिवेशन हुने लगभग तय भइसकेको उल्लेख गरेका छन्। ‘निर्वाचनपछि चैतमा महाधिवेशन हुनै लागेको थियो, मिति नै मोटामोटी तोकिसकिएको थियो। जसलाई नेतृत्व लिन मन लागेको छ, लिए हुन्छ। जमत पार्टी जनताको मतबाट चल्छ, बाहिरबाट होइन,’ उनले भनेका छन्। अध्यक्ष सीकेले आधिकारिक हस्ताक्षर भएको राजीनामा पार्टी कार्यालय वा इमेलमा पठाइदिन भनेका थिए।

वरिष्ठ उपाध्यक्ष खान, प्रवक्ता यादवलगायतका नेताहरूले पार्टी छाडेको केही घन्टा नबित्दै अब सीकेको निशानामा परेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह। जनमत पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाहीको चेतावनी दिँदै सिंहसँग स्पष्टीकरण सोधेको छ।

सरकारबाट बाहिरिने निर्णय भइसक्दा पनि हालसम्म राजीनामा नदिएको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण सोधेको हो।

जनमत पार्टी मधेश प्रदेश संसदीय दलले केही दिनअघिसरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो। संसदीय दलले निर्णय गरीसके पनि मुख्यमन्त्री सिंह अझै सरकारको नेतृत्व छोडेका छैनन्।
सरकारको नेतृत्व नछोडेपछि जनमत पार्टीले उनीसँग स्पष्टीकरण सोधेको हो।

‘जनमत पार्टी मधेश प्रदेश संसदीय दलले मधेश सरकारमाथि विश्वास नरहेको भनी जनमत पार्टी मधेश सरकारबाट बाहिरिने र मुख्यमन्त्रीसहितका आफ्नो पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णग गरी मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई मधेश प्रदेश सरकारबाट राजीनामा दिन निर्देशन दिएको र तपाईँ स्वयं फेसबुकमार्फतबाट राजीनामा दिएकोमा सोको समेत अवहेलना गर्दै तपाईँले मुख्यमन्त्री पदबाट राजीनामा नदिएको, उल्टा अरू पार्टीहरूसँग साँठगाँठ गरी पार्टीको हितविपरितका गतिविधिमा संलग्न भएको, पार्टीमा आघात हुने गरी कार्य गरेको, पार्टीको छविलाई आँच पु¥याएकोले जनमत पार्टीको विधानको धारा… बमोजिम तपाईँलाई पार्टीको संसदीय दलको तर्फबाट प्रदेशसभा सदस्य तथा पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन कारबाही नहुनुपर्ने हो तीन दिनभित्र स्पष्टीकरण पेस गर्न हुन अनरोध छ,’ केन्द्रीय अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले सोधेको स्पष्टीकरणमा भनिएको छ।

जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। तर, आन्दोलन साम्य भएपछि उनले औपचारिक रूपमा राजीनामा नबुझाएपछि चौतर्फी आलोचना भएको थियो। त्यसपछि जनमत प्रदेश संसदीय दलले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णयसहितको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएको थियो।

यसका बाबजुद मुख्यमन्त्री सिंहले पदबाट राजीनामा नदिएपछि जनमत पार्टीले स्पष्टीकरण सोधेको हो। जनमत स्रोतका अनुसार स्पष्टीकरण सोधेर जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई कारबाही गर्ने तयारी थालेको हो। साधारण सदस्यसमेत नरहने गरी कारबाही भए मुख्यमन्त्री सिंहको प्रदेशससभा सदस्य गुम्ने जोखिम बढेको छ।

जनमत पार्टीले मधेशका मुख्यमन्त्री सिंहसँग दोस्रोपटक स्पष्टीकरण सोधेको हो। यसअघि पनि पार्टी हितविपरित काम नगरेको भन्दै जनमतले सिंहसँग स्पष्टीकरण सोधेको थियो।

सीकेले पार्टीका पुराना नेताकार्यकतालाई किनारा लगाएर दाइ जयकान्तलाई बढी ‘स्पेस’ दिन थालेपछि जनमतभित्र असन्तुष्टि चुलिएको बताइन्छ। २०७९ सालको निर्वाचनमा उनले तत्कालीन कोषाध्यक्ष सुरेन्द्र यादवलाई टिकट नदिई दाइ जयकान्तलाई उम्मेदवार बनाएपछि जनमभित्र विवाद सुरू भएको नेताहरूको भनाइ छ।

दाजुलाई टिकट दिएपछि त्योबेला अनुशासन समितिका अध्यक्षसमेत रहेका तत्कालीन उपाध्यक्ष दीपककुमार साह, कोषाध्यक्ष सुरेन्द्र यादवलगायतका नेताहरूले विरोध जनाएका थिए। सीकेले दाइ जयकान्तलाई पार्टी उपाध्यक्षका साथै संगठन विभागको प्रमुख बनाएपछि जनमतभित्रको विवाद झनै चुलिएको थियो।

प्रकाशित: २ असोज २०८२ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast