
काठमाडौँ– जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट भएको क्षतिबापत पौने २१ अर्ब रुपैयाँको बिमा दाबी परेको छ।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशभर विभिन्न स्थानमा भएका आगजनी र तोडफोडबाट भएको क्षतिमा उक्त रकमको दाबी परेको हो।
१४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बिमा कम्पनीमा गरेर एक हजार ९८४ संख्याको २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको दाबी परेको प्राधिकरणको विवरणमा उल्लेख छ।
सबैभन्दा बढी रकम दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ। कम्पनीले पाँच अर्ब १४ करोड ७९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ।
दोस्रो धेरै रकमको दाबी सिद्धार्थ प्रिमियरमा चार अर्ब ९३ करोड २२ लाख रुपैयाँको परेको छ। यसैगरी तेस्रोमा शिखर इन्स्योरेन्सले दुई अर्ब ३९ करोड चार लाख रुपैयाँ बिमा दाबीबापत भुक्तानी गर्नुपर्ने देखिएको छ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा एक अर्ब ५९ करोड ६ लाख रुपैयाँ बिमा दाबी परेको छ। पाँचौँमा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ दाबी परेको छ।
हिमालयन एभरेस्ट इन्स्योरेन्समा एक अर्ब १५ करोड ६२ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा एक अर्ब नौ करोड ५३ लाख रुपैयाँ बढी रकम बराबरको दाबी परेको छ।
सानिमा जीआईसी इन्स्योरेन्समा ७८ करोड ९३ लाख रुपैयाँ, राष्ट्रिय बिमा कम्पनीमा ४९ करोड ५१ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ४८ करोड ७४ लाख रुपैयाँ दाबी परेको छ।
यसैगरी नेपाल इन्स्योरेन्समा ४६ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्समा ६ करोड ८२ लाख रुपैयाँको बिमा दाबी परेको छ।
लघु निर्जीवन बिमा कम्पनीतर्फ प्रोटेक्टिभ माइक्रोमा एक करोड १३ लाख रुपैयाँ, स्टार माइक्रोमा ६७ लाख ७ हजार रुपैयाँ, नेपाल माइक्रोमा ५६ लाख ३६ हजार रुपैयाँ र ट्रस्ट माइक्रोमा ४२ लाख रुपैयाँबराबरको बिमा दाबी परेको प्राधिकरणको तथ्यांक छ।