
बुटवल- जेनजी आन्दोलनका कारण रूपन्देहीको बुटवल र भैरहवामा आगलागी भएका कार्यालयबाट नियमित सेवा सञ्चालन अवरुद्ध भएको छ। जनसरोकार राख्ने स्थानीय तह, अदालत, प्रशासनजस्ता कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सेवा प्रवाह रोकिएको छ।
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते बुटवल र भैरहवाका ३६ सरकारी कार्यालय, ३१ वटा व्यावसायिक प्रतिष्ठान तथा केही निजी घर र १७ राजनीतिक पार्टी कार्यालयमा आगजनी र तोडफोड भएका थिए। घटना भएको एक सातासम्म प्रारम्भिक रूपमा प्रहरी प्रशासनले क्षतिको विवरण संकलन गर्दै आएको छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले विवरणहरू संकलन भइरहेकाले क्षतिको यकिन विवरण आइनसकेको बताए। उनले तथ्यांक संकलनसँगै सरकारी कार्यालय, निजी प्रतिष्ठान तथा व्यक्तिको घरमा समेत पुगी तोडफोड, लुटपाटमा संलग्नलाई कारबाही प्रक्रिया थालेको समेत बताए।
जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर संघ/प्रदेश/स्थानीय तहका कार्यालय, राजनीतिक दलका कार्यालयहरू, उद्योग, वाणिज्य, व्यापार संघ एवं व्यावसायिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाहरू, कलकारखाना, निजी भवन, पसललगायतका संरचनामा भएको तोडफोड, आगजनी एवं लुटपाट हुनुपूर्व आआफ्नो प्रतिष्ठान तथा निजी भवन एवं पसलहरूमा रहेका सीसीटीभी फुटेज, भिडियो रेकर्ड जिल्ला प्रशासन वा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा उपलब्ध गराउन अनुरोध गरेको छ।
बुटवल-भैरहवाका कार्यालयमा जलेका भवनका भग्नावशेष देख्न सकिन्छ। जलेका सवारीसाधन, महत्त्वपूर्ण कागजात अनि फुटेका ढोकाहरूले कार्यालय उराठ र उजाड देखिन्छन्। जेनजी पुस्ताको आन्दोलनका क्रममा रूपन्देहीका निकै महत्त्वपूर्ण कार्यालय जलेका छन्।

सुरक्षा निकायकै घेरामा रहेका बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेश प्रमुखको कार्यालय, उच्च अदालत तुल्सीपुर बुटवल इजलास, उच्च सरकारी वकिलको कार्यालय, लोकसेवा आयोग आगलागीले क्षतिग्रस्त छन्। यी कार्यालयमा आगो दन्किरहँदा नेपाली सेना र प्रहरी धुवाँको मुस्लो मात्रै हेरेर बसेको प्रत्यक्षदर्शीले बताए। यी कार्यालयको दुई सय मिटरको वरपरमा इलाका प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र बुटवल बहुमुखी क्याम्पसअगाडि नेपाली सेनाको ब्यारेक छ। बुटवलस्थित इलाका प्रशासन कार्यालय र आन्तरिक राजस्वको कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भए।
नेकपा एमाले, नेपाली कांग्रेस, नकेपा माओवादी केन्द्रको पार्टी कार्यालय जलेका छन्। जीवराज आश्रित प्रतिष्ठान, सहिद स्मृति प्रतिष्ठानदेखि लिएर रेडियो जागरणसम्ममा क्षति पुगेको छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलको भाटभटेनी, भैरहवाको भाटभटेनी, बुटवलको होटल ड्रिम इन्टरनेसनल, तिलोत्तमाको डिमल्यान्ड गोल्ड रिसोर्ट, होटल टुलिपमा आगजनी र तोडफोडले ठूलो क्षति पुगेको छ। प्रहरी कार्यालय, सांसद र पालिका प्रमुख उपप्रमुखहरू पनि आन्दोलनकारीको निसानामा परेका छन्।
एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, प्रदेश सांसदहरू भोजप्रसाद श्रेष्ठ, लुम्बिनीका भौतिक पूर्वाधारमन्त्री भूमीश्वर ढकाल, सैनामैना नगरपालिकाका उपप्रमुख विना रानामगरको घर तोडफोड भयो। मगरलाई सार्वजनिक रूपमा कालोमोसो दलेर बेइज्जतीसमेत गराइएको थियो।
आन्दोलनकारीले सैनामैना नगरपालिकाका नगरप्रमुख फणीन्द्र शर्माको घरमा आगजनी गरेका थिए। सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको घर आगजनीले क्षतिग्रस्त भएको छ। सिद्धार्थनगरकै उपप्रमुख उमा काफ्लेको घरमा पनि आगजनी भएको छ।
आन्दोलनको पहिलो दिन भदौ २३ गते पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तिलोत्तमा स्थत घरमा आगजनी गरिएको थियो। तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको घरमा पनि आगजनी र तोडफोड भएको छ। बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले आफ्नो घरमा तोडफोड भएको बताइन्। ‘छिमेकीहरूले आगलागीबाट बचाइदिनुभएछ, घरको गेट फोडिएको छ, घरको ढोका, झ्यालका सिसा फुटेका छन्’, उनले भनिन्।

जनतालाई सुरक्षा दिने प्रहरीले आफ्नो कार्यालयसमेत जोगाउन सकेनन्। इलाका प्रहरी कार्यालय मंगलापुर आन्दोलनकारीले जलाइदिएका छन्। भैरहवाको गल्लामण्डीमा रहेको प्रहरी बिट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। जिल्लाभर इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी गरी सातवटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए। उनले प्रारम्भिक तथ्यांक मात्रै लिइएको बताउँदै मूल्यांकन हुन बाँकी रहेको बताए। उनका अनुसार जिल्लाभर दुईपांग्रे ९९ वटा र चारपांग्रे ७१ वटा सवारीसाधनमा क्षति पुगेको छ। सरकारी मात्रै ६८ वटामध्ये ४५ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
सरकारी कार्यालयमा आर्थिक रूपमा भने ठूलो नोक्सानी भएको छ। सरकारी, निजी र पार्टी कार्यालयहरूको क्षति जोड्दा रूपन्देहीमा अर्बौँको क्षति भएको छ।
जलेका सामान पन्छयाएर अत्यावश्यक सेवा
बुटवल उपमहानगरपालिकामा नगरप्रमुखको कार्यकक्षसहित भवन जलेर क्षतिग्रस्त भएकाले नियमित सेवा थाल्न सकस भइरहेको छ। नगरप्रमुख खेलराज पाण्डेयले भुइँतला र पहिलो तला पूर्ण रूपमा क्षतिग्रस्त भएको बताए। अहत्वपूर्ण कागजपत्र जलेर नष्ट भएकाले कार्यालय नियमित गर्ने विषयमा तयारी थालिएको उनको भनाइ छ।
‘केही अत्यावश्यक सेवा सुरु गरेका छौँ’, नगरप्रमुख पाण्डेयले भने, ‘अब एकचरण सबै पक्षसँग छलफल गरेर सेवा नियमित गर्ने तयारीमा छौँ।’ नगरप्रमुख पाण्डेयको कार्यकक्ष पूर्ण रूपमा जलेको छ। शिक्षा, राजस्व, नक्सा, खेलकुदलगायतका महत्त्वपूर्ण कागजात भएका शाखा जलेका छन्। प्रहरीले मुचुक्ला उठाएर क्षतिको विवरण संकलन सुरु गरिएको छनगरप्रमुख पाण्डेयले बताए।
प्रदर्शनकारीको आगजनीबाट उपमहानगरभित्रका महत्त्वपूर्ण कागजपत्र जलेका छन्। फर्निचरहरू जलेका छन्। कप्युटर, ल्यापटपलगायतका सामान चोरी भएको उपमहानगरले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत मित्रमणि शर्माले भने, ‘भुइँतला ध्वस्त छ। पहिलो तला करिब ४० प्रतिशत क्षतिग्रस्त छ, क्यान्टिन आगलागीले क्षतविक्षत छ’, शर्माले भने, ‘अहिले जलेका सामान पन्छाएर अत्यावश्यक सेवा मात्रै सुरु गरेका छौँ।’
भदौ २९ गतेदेखि बिरामीको सिफारिस, सामाजिक सुरक्षा भत्तासहित पञ्जीकरण सेवा र उद्योग व्यवसाय दर्ता लगायतका अत्यावश्यक सेवा मात्रै सुरु गएिको हो। कार्यालयको क्षतिको विवरण संकलन भइरहेकाले यकिन विवरण आइसकेको छैन।

उपमहानगर स्रोतका अनुसार कम्तीमा ५ करोड रूपैयाँको नोक्सानी भएको छ। उपमहानगरको भवन पूर्वनगरप्रमुख शिवराज सुवेदीको पालनामा निर्माण भएको हो। चार तलाको भवनको विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यु बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजारमा सम्झौता गरी निर्माण गरेको थियो।
भवनको २०७८ माघमा उद्घाटन गरिएको हो। बुटवल उपमहानगरसँगै पुरानो भवनमा रहेको वडा न. ४ को कार्यालय पनि क्षतिग्रस्त भएको छ। अन्य १८ वटा वडा कार्यालयबाट भने सेवा नियमित रहेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए। बुटवल उपमहानगरका कतिपय महत्त्वपूर्ण उपकरण, फर्निचरसमेत चोरी भएको छ। शर्माले कार्यालय पूर्ण रूपमा सञ्चालन हुन कम्तीमा तीन महिना लाग्ने बताए।
इलाका प्रशासन कम्तीमा एक साता ठप्प
नागरिकसँग प्रत्यक्ष जोडिने प्रशासन कार्यालय पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएकाले सेवा सञ्चालन गर्न अझै केही समय लाग्ने भएको छ। बुटवलस्थित इलाका प्रशासन कार्यालयमा प्रदर्शनकारीहरूले आगलागी गरेर कार्यालय पूर्ण रूपमा क्षति गराएका छन्। नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका कागजपत्र बनाउन रोकिएको छ।
इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले कार्यालयका कागजपत्रदेखि लिएर कम्प्युटर, फर्निचरसम्म जलेकाले सरसफाइ मात्रै गरिएको बताए। उनका अनुसार न्यूनतम सेवा सञ्चालन गर्न कम्तीमा एक साता लाग्ने बताए। ‘अहिले हामीले कार्यालय सरसफाइ गरेका छौँ। अबको एक सातामा न्यूनतम सेवा दिन सक्छौँ कि भनेर तयारीमा जुटेका छौँ’, उनले भने। उनका अनुसार नागरिक, राहदानी, कम्प्युटर, फर्निचर सबै जलेकोे छ। केही कोठाहरूमा आंशिक क्षति भएकाले त्यसको विवरण हेर्ने काम भइरहेको उनले बताए।