संसद् भवनको भग्नावशेष अवलोकनमा देखिए सभामुख घिमिरे

हिमाल प्रेस २ असोज २०८२ १३:४४
8
SHARES
संसद् भवनको भग्नावशेष अवलोकनमा देखिए सभामुख घिमिरे

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आगोले जलेर ध्वस्त भएको नयाँबानेश्वरस्थित संसद् भवन बिहीबार अवलोकन गरेका छन्। जेनजीको आन्दोलनपछि सैनिक सुरक्षामा रहेका घिमिरे भवनको भग्नावशेष अवलोकन गर्न एमालेका नेताहरूसँग नयाँबानेश्वर पुगेका थिए।

२४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि  सेनाको सुरक्षामा पुगेका घिमिरे त्यसयता सार्वजनिक समारोहमा देखिएका थिएनन्।

सभामुख घिमिरे अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिँदा समारोहमा उपस्थित भएका थिएनन्। यसैगरी सोमबार आयोजित मन्त्रीहरूको शपथ समारोहमा पनि उनी शीतल निवास गएनन्।

भग्नावशेषको अवलोकनपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद् भवनलाई चाँडै पूर्ववत् अवस्थामा ल्याउनुपर्ने बताए। संसद् भवनमा  जेनजी आन्दोलनका क्रममा आगजनी भएको थियो।

गत भदौ २३ र २४ गते जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्द फिर्ताका मागसहित देशभर प्रदर्शन गरेका थिए। आन्दोलनका क्रममा केही अराजक समूहले संसद् भवन, सिंहदरबार, शीतल निवासलगायत सरकारी कार्यालय र नेताहरूका आवासमा आगजनी गरेका थिए।

संसद् भवन सोही घटनामा जलेर व्यापक क्षति भएको हो। प्रदर्शनकारीको मागअनुसार अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरिसकेका छन्। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते तोकिएको छ।

तस्बिरहरू : सभामुखको सचिवालय

प्रकाशित: २ असोज २०८२ १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast