
काठमाडौँ- १० दिनपछि बिहीबार खुलेको सेयर बजारमा तेस्रो नकारात्मक सर्किट लागेपछि कारोबार स्थगित भएको छ। जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको आगजनी र तोडफोडमा ७४ जनाको ज्यान गएपछि बिहीबार सेयर बजार पुनः खुलेको हो।
कारोबार सुरु भएको केही मिनेटमै नेप्से सूचक तीव्र गतिमा ओरालो लागेपछि कारोबार रोकिएको थियो। त्यसपछि २० मिनेट स्थगित भएर खुलेको कारोबारमा थप १ प्रतिशत अर्थात् कुल ५ प्रतिशत घटेपछि ११ बजेर २३ मिनेटमा दोस्रो सर्किट ब्रेक लाग्यो।
दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो। १२ बजेर ४ मिनेटमा खुलेको बजार फेरि थप १ प्रतिशत अर्थात् कुल ६ प्रतिशत घटेपछि तेस्रो सर्किट ब्रेक लाग्यो। यसपछि आजका लागि कारोबार स्थगित भएको हो। धेरैजसो सरकारी तथा निजी कार्यालय आइतबारदेखि खुले पनि अस्थिर अवस्थाका कारण नेप्सेले केही दिन ढिलो गरेर कारोबार सुरु गरेको थियो। तर ढिलो गरेर सुरु गरिँदासमेत बजार दुर्घटनाबाट जोगिन सकेन।
यससँगै नेप्से १६०.३३ अंकले घटेर २,५११.९१ अंकमा बन्द भयो। बिहीबार कुल ७,४३५ वटा कारोबारमार्फत १७ लाख ५० हजार कित्ता सेयर ७२ करोड ८७ लाख रुपैयाँ बराबरमा किनबेच भए।