गण्डकीमा जेनजी प्रदर्शन : १७२ सरकारी सवारीसाधन तोडफोड तथा आगजनी

हिमाल प्रेस १ असोज २०८२ २०:१६
10
SHARES
गण्डकीमा जेनजी प्रदर्शन : १७२ सरकारी सवारीसाधन तोडफोड तथा आगजनी

पोखरा- जेनजी प्रदर्शनका क्रममा गत मंगलबार पोखरास्थित संघ, प्रदेश तथा जिल्ला तहका गरी अधिकांश सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी भए। जसमा मुख्यमन्त्री कार्यालय, संसद्, प्रदेशका मन्त्रालयहरु, मुख्यमन्त्री निवासदेखि मन्त्रीहरुको निवाससमेतमा तोडफोड तथा आगजनी गरी ठूलो क्षति गरिएको थियो।

प्रारम्भिक तथ्यांकअनुसार प्रदेशका मन्त्रालय, मातहतका कार्यालय, प्रदेशसभाका गरी कुल १७२ सवारीसाधनमाथि आगजनी तथा तोडफोड भएको हो। तीमध्ये ४८ व६ा चारपाङ्ग्रे सवारी जलेका हुन्। चार वटा तोडफोड भएका हुन्। यस्तै १२० दुईपाङ्ग्रे सवारी जलाएर भष्म पारिएको थियो।

प्रदर्शनको पहिलो दिन २३ भदौमै प्रदर्शनकारीहरुले पार्दीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निशाना बनाएका थिए। नभन्दै दोस्रो दिन २५ भदौमा प्रदर्शन उग्र बन्दा मुख्यमन्त्री कार्यालयदेखि नजिकका मन्त्रालयहरु तथा सरकारी कार्यालयहरु निशानामा परे।

प्रदर्शनकारीले सामाजिक विकास, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, आर्थिक मामिला, उद्योग तथा पर्यटन, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा प्रदर्शनकारीले आगजनी गरेका थिए। कतिपय सामानहरु लुटेर लगेका छन्। नदीपुरस्थित संसद् भवन, प्रदेश सभा सचिवालय, संसदीय समिति, संसदीय दलका कार्यालय पनि जलेर खरानी भए।

यस्तै मुख्यमन्त्री निवास, मुख्यमन्त्री कार्यालयमै रहेको प्रदेश किताबखाना जलेको छ। यहाँका सात वटा मोटरसाइकल र तीन वटा स्कुटर जलेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। यहाँका चारपाङ्ग्रे सवारी भने नजिकैको गण्डकी प्रदेश प्रहरी कार्यालयमा लगेर सुरक्षित गरिएको थियो।

वन तथा वातावरण मन्त्रालयको चार वटा र वन निर्देशनालयको एउटा गाडी जलाइएको छ। अर्को एक गाडी तोडफोड गरी क्षति पारिएको छ। यहाँका आठ मोटरसाइकल र चार स्कुटरमाथि आगजनी गरियो। लेखा शाखा, दर्ता चलानी शाखा जलेको छ। स्टोर तोडफोड भएको छ। ल्यापटप, फ्रिज, भाँडाकुँडा सागम्री चोरी भएको छ। मन्त्रीको सचिवालय र कार्यकक्ष पूर्णरुपमा तोडफोड गरिएको छ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका पाँचवटा चारपाङ्ग्रे र १२ वटा दुईपाङ्ग्रे गाडीमा आगजनी गरिएको छ। मन्त्रालयको भवनमा अगजनी गरिएको छ भने मातहतको सामाजिक विकास कार्यालय र गण्डकी विश्वविद्यालयमा समेत तोडफोड हुँदा क्षति भएको छ। खेलकुद शाखाको सबै कोठा जलेका छन्। सभाहलमा तोडफोड गरिनुका साथै लेखा शाखाका सबै कम्प्युटर चोरी गरी लगिएको छ।

यसै गरी, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका ६ वटा चारपाङ्ग्रे र २७ वटा दुईपाङ्ग्रे गाडी जलेका छन्। यो मन्त्रालयमातहतको शहरी विकास तथा भवन कार्यालय, पूर्वाधार विकास कार्यालय कास्कीमा तोडफोड र क्षति भएको छ। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र र सवारी दुवै कार्यालय पूर्णरुपमा जलाइएको छ। चार लाख ४२ हजार रुपैयाँ राजस्वको रकम हराएको छ। यहाँको मुचुल्का र सरसफाइ कार्य भइरहेको जनाइएको छ।

आर्थिक मामिला मन्त्रालयका तीन व६ा चारपाङ्ग्रे र ६ वटा दुईपाङ्ग्रे सवारी जलेका छन्। मन्त्रालयको भुइँतला तोडफोड र आंशिक जलेका छन्। ढोकाझ्याल तोडफोड गरिनुका साथै सभाहल सबै जलेको छ। मन्त्रीको कार्यकक्ष तोडफोड भएको छ। यहाँका तीन ल्यापटप, दुई कम्प्युटर, दुई प्रिन्टर चोरी भएको छ।

यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी एक/एक वटा जलेका छन्। ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको चार वटा, खानेपानी कार्यालय तनहुँ र जलस्रोत कार्यालय कास्कीको १/१ वटा चारपाङ्ग्रे सवारी जलेका छन्। अर्को चारपाङ्ग्रे सवारीमा तोडफोड गरिएको छ। मन्त्रालय मातहतका १८ मोटरसाइकलमाथि आगजनी भएको थियो।

स्वास्थ्य मन्त्रालयका तीन वटा स्कुटर जलेका छन्। यहाँको भवनमा भौतिक क्षति छैन।

पर्यटन तथा उद्योग मन्त्रालयका चार वटा गाडी र पाँच वटा मोटरसाइकल पूर्ण रुपमा जलेका छन्। निर्देशनालयको भवन जलेर पूर्ण क्षति भएको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीनजिकै रहेको प्रदेश नीति तथा योजना आयोगको तीन गाडी र चार मोटरसाइकलमाथि आगजनी गरिएको छ।

नजिकैको प्रदेश प्रमुखको कार्यालयका चार वटा चारपाङ्ग्रे र तीन वटा मोटरसाइकल जलेका छन्। कर्मचारीका दुई वटा निजी मोटरसाइकल जलेका छन्। सिमलचौरस्थित प्रदेश प्रमुखको निवास पूर्णरुपमा जलेको छ।

मुस्ताङचोकमा रहेको प्रदेश लोक सेवा आयोगका चार वटा चारपाङ्ग्रे र एउटा दुईपाङ्ग्रे सवारी जलेका छन्। यहाँबाट २९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।

नदीपुरस्थित गण्डकी प्रदेश सभा भवन पूर्णरुपमा ध्वस्त भएको छ। यसै गरी, यहाँको प्रदेश सभा सचिवालय, दलका संसदीय कार्यालयहरु, समितिका कार्यालय, आवास भवन, पुस्तकालय सबै जलेर खरानी भए। प्रदेश सभाका ६ वटा चारपाङ्ग्रे र १२ वटा दुईपाङ्ग्रे सवारीमाथि आगजनी गरिएको थियो।

यस्तै ३९ डेस्कटप कम्प्युटर, १९ ल्यापटप, पाँच भिडियो क्यामरा, ३५ थान प्रिन्टर फोटोकपी मेसिन, ९ टेलिभिजन स्क्रिन र ४४ थान एयर कन्डिसनर जलेका छन्।

गण्डकी प्रदेश सरकारले प्रदर्शनकारीहरुले लुटेका सामानहरु सकुशल फिर्ता गर्न आग्रह गरेको छ। सामान फिर्ता गर्नेहरुको पहिचान गोप्य राखिने छ तर अटेर गरी फिर्ता नगरे सीसीटीभी फुटेज तथा फोटोहरुको आधारमा व्यक्तिको पहिचान गरी कानुनी कारबाही चलाउने चेतावनी दिइएको मुख्यमन्त्री कार्यालयका सचिव रमेश ढकालले जानकारी दिए।

प्रकाशित: १ असोज २०८२ २०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast