एक साता मुर्झाएर बौरियो कला जगत्

सुस्मिता बजगाईं ३१ भदौ २०८२ १६:४८
18
SHARES
एक साता मुर्झाएर बौरियो कला जगत् एआईको सहयोगमा तयार पारिएको तस्बिर।

काठमाडौँ- भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले देशको सबै क्षेत्र प्रभावित भए। करिब एक  साता कला क्षेत्रमा पनि ठूलै  असर पर्‍यो। देशभरका फिल्म हल, थिएटर र चित्रकला प्रदर्शनी बन्द भए। हल बन्द हुँदा फिल्म चलेनन्।  विभिन्न ठाउँमा फिल्म छायांकन अवरुद्ध भए। रंगमञ्चमा शून्यता छायो। चित्रकला प्रदर्शनी, गीत सार्वजनिकजस्ता कार्यक्रम बन्द भए।

शुक्रबार देशमा अन्तरिम सरकार गठन भएपछि भने मनोरञ्जन क्षेत्र लयमा फर्किँदै छ। भदौ ३० देखि फिल्म हल सञ्चालनमा आएका छन्। आन्दोलनकै प्रभाव कुनै नयाँ फिल्म, नाटक, चित्रकला प्रदर्शन हुन सकेको छैन। तथापि स्थगित भएका कार्यक्रम चल्न थालेका छन्।

आन्दोलनको प्रभाव थिएटरमा

चार नाटक मञ्चन हुँदाहुँदै स्थगित भएको थियो। मण्डला थिएटरमा ‘खमारीः मौन संवाद’, ‘सिरुमारानी’, कौसी थिएटरमा ‘कालीपार’ र ओजस थिएटरमा ‘कर्तव्य’ मञ्चन भइरहेका थिए। अन्तरिम सरकार गठन भएपछि ‘कालीपार र ‘सिरुमारानी’ असोज १ देखि मञ्चन हुने भएका छन्। अन्य नाटक भने तिहारपछि पुनः मञ्चन गर्ने टिमको तयारी छ।

‘काली पार’ टेकुस्थित कौसी थिएटरमा असोज १ देखि मञ्चन हुनेछ। ‘ऐतिहासिक घटनाको साक्षी बन्दै र जेनजी आन्दोलनलाई समर्थन गर्दै एक हप्ता विश्राम लिएपछि हामी नाटक ‘काली पार’ को पुनः मञ्चन सुरु गर्दैछौँ ’, थिएटरले जारी गरेका सूचनामा भनिएको छ। नाटकले ठूलो युद्धको बिचमा लिइनुपर्ने राजनीतिक निर्णय र विद्यमान सत्ता लालसा देखाएको छ। नाटकका निर्देशक मुक्तिप्रसाद पौडेल र प्रवीण पौडेल हुन्। नाटक १५ सय वर्षअघिको टुक्रे राज्य विस्तार अभियानसँग सम्बन्धित छ।

‘सिरुमारानी’ नाटक एक विद्रोही नारीको कथामा बनेको छ। नाटकको कथा सरुभक्तले लेखेका हुन्। मण्डला थिएटरका ल्याब-१७ का विद्यार्थीले अभिनय गरेको नाटक अनुप न्यौपाने र सुमित्रा पेहिमले निर्देशन गरेका छन्। नाटक थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुनेछ।

आर्ट काउन्सिलमा चित्रकला प्रदर्शन पुनः सञ्चालनमा आएको छ। बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल-२०२५’ चलिरहेको छ। ‘रुट्स एन्ड रिफ्लेक्सन’ शीर्षकमा चलिरहेको चित्रकला प्रदर्शनी असोज ११ सम्म चल्नेछ। प्रदर्शनीमा १५० कलाकारका दुई सयभन्दा बढी चित्रकला, मूर्तिकला राखिएको छ। काउन्सिलको तीनै तला नेपालको कला संस्कृति झल्काउने तस्बिरले भरिएका छन्। प्रदर्शनी आर्ट काउन्सिल र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा गरेको हो।

हलमा पनि केही हिन्दीसहित नेपाली फिल्म पुनः प्रदर्शनरत छ। भदौ २३ को जेनजी आन्दोलनले उग्र रुप लिएपछि २४ देखि देशभरका हल बन्द थियो। अन्तरिक सरकार गठनपछि नेपाल चलचित्र संघले देशको परिस्थिति मध्यनजर गर्दै ३० गतेदेखि हल सञ्चालनमा ल्याए। हल खुलेसँगै नयाँ फिल्म प्रदर्शन भएको छैन। पुरानै केही हिन्दी र नेपाली फिल्मले निरन्तरता पाएका छन्। ती हुन्, ‘रिमै’, ‘गुन्यो चोलो’, ‘कोशेढुङ्गा’, ‘बागी ४’, ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’, ‘परम सुन्दरी’ र ‘द कोन्जुरिङः लास्ट राइट्स’।

आन्दोलनकै प्रभाव भदौ २७ मा प्रदर्शन स्थिगित भएको फिल्म ‘अभिमन्युः च्याप्टर वान’ भने आगामी असोज १३ मा हलमा लाग्ने भएको छ। त्यस्तै सविर श्रेष्ठ निर्देशित ‘३६ को आँकडा’, दिनेश राउतको ‘कुमारी’, प्रकु पाण्डे निर्देशित ‘मालती मंगले’, लक्ष्मण सुनार निर्देशित ‘परालको आगो’लगायत फिल्मका टिम पुनः छायांकनमा फर्केका छन्।

यो सँगै सामाजिक सञ्जाल प्रतिबन्धले थुप्रै गीत/संगीत रोकिएको थियो। यसले धेरै संगीतकर्मीको भविष्य अन्योल हुने स्थिति थियो। त्यस लगत्तै जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले सामाजिक सञ्जाल त खुले तर, देशभर जारी कर्‍फ्यु र निशेधाज्ञाले गीतहरू सार्वजनिक भएनन्। गीत रेर्कड पनि ठप्प भएको थियो। अब भने रोकिएका गीत पनि सार्वजनिक हुने प्रकियामा छ। गायिका रचना रिमालले पनि आफू काममा फर्केको फेसबुक स्टाटसमार्फत बताएकी छन्।

आन्दाेलनले नै राेकिएकाे फिल्म  ‘बलिदान’ को शीर्ष गीत ‘यो ज्यान बलिदान’ रिलिज भएकाे छ। दसैँ नजिकिदै गर्दा दसैँ विशेष गीतहरू पनि युुट्युबमा सार्वजनिक हुन थालेका छन्।

करिब एक दर्जनजति दसैँका गीत युट्युबमा अपलोड भएका छन्, जसमा तिलक बस्नेत र शान्तिश्री परियारको स्वरमा ‘छैन खुसी मन’। कृष क्षेत्री, टिका सानु, निर्माता देवी बस्नेत, सन्तोष पन्थी र जमुना पुनको स्वरमा ‘दसैँ आयो तिहारै आयो’। तिलक बस्नेत र पूर्णकला बिसीको आवाजमा ‘गाउँझैँ राम्रो नहुने कही पनि’। सन्तोष केसी र सुनिता बुढा क्षेत्री को स्वरमा ‘जान्छु परदेश’। दिनेश श्रेष्ठ र समीक्षा अधिकारीको स्वरमा ‘यो दसैँमा त रम्म झम्म’ लगायत गीत छन्। जुन गीतले परदेशीको पीडा र उनीहरू देश फर्किँदा परिवारमा छाउने खुसी भाव व्यक्त गरिएको छ।

प्रकाशित: ३१ भदौ २०८२ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast