जेनजी प्रदर्शनका क्रममा लुटपाट गरिएका सामान फिर्ता गर्न गण्डकी सरकारको आग्रह

हिमाल प्रेस ३१ भदौ २०८२ १३:०६
10
SHARES
जेनजी प्रदर्शनका क्रममा लुटपाट गरिएका सामान फिर्ता गर्न गण्डकी सरकारको आग्रह

पोखरा- जेनजी आन्दोलनका क्रममा लुटपाट तथा चोरी भएका सरकारी सम्पत्ति फिर्ता गर्न गण्डकी सरकारले आग्रह गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै स्वस्फूर्त ती सामानहरू फिर्ता गर्न आह्वान गरेको हो। यसरी सामान फिर्ता गर्दा सम्बन्धित व्यक्तिको पहिचान गोप्य राखिनेछ।

गत साता जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयहरू, आयोग तथा सरकारी निवासहरूमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। सवारीसाधन, टिभी, कम्प्युटर, ल्यापटप, स्क्यानर, क्यामरा, प्रिन्टर र फर्निचरजस्ता महत्वपूर्ण जिन्सी सामग्रीहरू चोरी भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

तोडफोड र चोरीमा संलग्नहरूको पहिचान गर्न सीसीटीभी फुटेज र अन्य भिडियो सामग्रीहरूको विश्लेषण भइरहेको सूचनामा जनाइएको छ। भिडियो र फोटोहरूमार्फत दोषीको पहिचान गर्ने र पक्राउ गरी कारबाहीको दायरामा ल्याउने सचिव रमेश ढकालले बताए।

तर सामान फिर्ता नगरे आवशयक कानुनी कारबाही अघि बढाउने पनि चेतावनी छ। ढकालका अनुसार गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयको मात्रै ४३ वटा चारपाङ्ग्रे र १ सय २ वटा दुईपाङ्ग्रे सवारीसाधन जलाइएको छ भने केहीमा तोडफोड भएको छ ।

यसैबीच, गण्डकी प्रदेशसभा सचिवालयले पनि लुटपाटका सामानहरू फिर्ता गर्न आग्रह गरेको छ। नदीपुरस्थित प्रदेशसभा भवनदेखि सचिवालय, पुस्तकालय ध्वस्त भएको छ। कार्यालयमा कुनै पनि कम्प्युटर सग्लो छैन। सचिवालयका दुईपाङ्ग्रे तथा चारपांग्रे सवारीसाधन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, भिडियो क्यामेरा, क्यामेरा, टीभी, स्मार्टबोर्ड, कुर्सी टेबुल, दराज, सोफा लगायतका सामग्रीहरू चोरी भएको सचिवालयका नवनियुक्त सचिव गोविन्द पौडेलले बताए।

लुटेराहरूले सभामुख र उपसभामुख निवास नागढुंगासमेत लुटपाट र चोरी गरेका थिए। प्रदर्शनका क्रममा गण्डकी प्रदेशका पोखरास्थित अधिकांश सरकारी कार्यालयहरूमा लुटपाट तथा आगजनी गरिएको थियो। सबैजसो सरकारी कार्यालयहरू खण्डहर छन्। केहीमा सरसफाइ थालिएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले एउटा कोठाबाट आधारभूत सेवाहरू दिन थालेको छ।

प्रकाशित: ३१ भदौ २०८२ १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast