आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गर्छौँ : घिसिङ

हिमाल प्रेस ३० भदौ २०८२ १८:२६
50
SHARES
आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गर्छौँ : घिसिङ

काठमाडौँ– सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरुप देखिएका संरचनाको दशैँअघि नै रङरोगन गर्ने गरी तयारी अगाडि बढाइने बताएका छन्। सोमबार मन्त्रालयको पदभारपछि सम्बोधन गर्दै उनले तत्कालका लागि रङरोगन गरिने र त्यसपछि फर्निचरलगायत अत्यावश्यक सामान व्यवस्थापन गर्नुपर्ने बताएका हुन्।

मन्त्री घिसिङले पुनर्निर्माण कार्य अगाडि बढाउन विशेष कोष खडा गर्ने तथा त्यसमा स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई आग्रह गरिने बताए।

‘गत साता जेनजी आन्दोलनका क्रममा आगजनी भएका संरचनाको पुनर्निर्माण गर्नुपर्ने र त्यसका लागि आर्थिक स्रोत व्यवस्थापन नै अहिलेको मुख्य चुनौती हो। हाम्रो संरचना हामी आफैँ बनाउन सक्छौँ भन्ने सन्देश दिनका लागि पनि विभिन्न सहयोगीसँग आग्रह गर्नेछौँ,’ उनले भने, ‘तत्काल पुनर्निर्माणको काम अगाडि बढाउने गरी एक साताभित्र खाका तयार गरेर अगाडि बढ्नेछौँ।’

मन्त्री घिसिङले भ्रष्टाचार उन्मूलन र सुशासन कायम गर्ने तथा मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नु ठूलो चुनौती रहे पनि तिनको समाधान गर्न सबै लाग्नुपर्ने बताए।

मन्त्रालयका सचिव गोपाल सिग्देलले पूर्वाधारमा भएको क्षति मूल्यांकन गर्ने, पुनर्निर्माणका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने जानकारी दिए।

प्रकाशित: ३० भदौ २०८२ १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast