जेनजी आन्दोलन : पक्राउ पर्न थाले लुटपाटमा संलग्नहरू

हिमाल प्रेस ३० भदौ २०८२ १७:०९
52
SHARES
जेनजी आन्दोलन : पक्राउ पर्न थाले लुटपाटमा संलग्नहरू

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटपाटसहित आगजनीलगायतका कार्यमा संलग्न केही व्यक्तिलाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ। भदौ २४ गते प्रदेश लोकसेवा आयोगको कार्यालय, प्रहरी चौकीहरू, मन्त्रालयलगायतका स्थानमा आगजानी, लुटपाट तथा प्रहरीको हतियार लुटपाटमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हालसम्म १० जना पक्राउ परेका छन्।

सोमबार प्रहरीले जनकपुरधाम उपमहानगरपालिका-९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ। उनीहरूले प्रदेश लोकसेवा कार्यालयमा खटिएका सुरक्षाकर्मीको हतियार लुटेका थिए। जनजी आन्दोलनका क्रममा ५०/६० जनाको समूहमा रहेका व्यक्तिहरूले जनकपुरधाम-९ मा रहेको मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा आगजानी गरेका थिए।

उनीहरूले कार्यालयमा रहेका चारवटा चारपांग्रे गाडी, चारवटा मोटरसाइकल, सीसीटीभी क्यामेरा तथा कार्यालयमा तोडफोड र आगजानी गरेका थिए। साथै कार्यालयको सुरक्षामा खटिएका नेपाल प्रहरीको एसएलआर राईफल एक थान र गोली ५० राउन्ड लुटेर भागेका थिए। विभिन्न स्थानको सीसीटीभी फुटेजका आधारमा मनिष र सन्तोषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी नरहरि रेग्मीले जानकारी दिए।

उनले लुटपाट तथा आगजनीलगायतका घटनामा संलग्नहरूलाई पक्राउ गर्नुका साथै खोजबिन गर्ने काम भइरहेको बताए। प्रदर्शनकारीहरूले धनुषाबाट दुईवटा हतियार लुटेको र दुवै बरामद भएको रेग्मीले जानकारी दिए। उनका अनुसार अहिलेसम्म ८ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ।

एसपी रेग्मीका अनुसार सात जनामाथि आपराधिक उपद्रव र एक जनामाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। उनले लुटपाट र आगजनीलगायतका घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको बताए।

जनकपुरधाम हनुमानगर प्रहरी चौकीमा ग्यास सिलिन्डर पड्काएको आरोपमा संलग्न प्रहरीले वडा नम्बर ११ बस्ने ३६ वर्षीय राधे यादवलाई पक्राउ गरको छ। उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ।

त्यस्तै प्रदेश लोकसेवा आयोगमा तोडफोड र प्रहरीको हतियार लुटेको घटनामा संलग्न रहको आरोपमा जनकपुरधाम-१३ का काले पटेल र सहिदनगर नगरपालिका-३ का शिवम साहलाई पक्राउ गरेको छ। उनीहरूमाथि आपराधिक उपद्रव मुद्दा दर्ता भएको छ।

मन्त्रालयको कम्प्युटर लुटेको आरोपमा जनकपुरधाम-१० बस्ने गौतम भगत र चन्दनकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि पनि आपराधिक उपद्रव मुद्दा दर्ता भएको छ।

त्यस्तै जनकपुरधाम-८ स्थित बलवा प्रहरी चौकीमा आगजनी गरेको आरोपमा महोत्तरी भंगहा नगरपालिका-७ का १९ वर्षीय कृष्णा यादव र लोहारपट्टी नगरपालिका-२ का २८ वर्षीय निर्भय मिश्रा रहेका छन्। उनीहरूमाथि पनि आपराधिक उपद्रव मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० भदौ २०८२ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast