
काठमाडौँ- जेनजी आन्दोलनका क्रममा लुटिएका सामान खरिदबिक्री गर्नेलाई कारबाही हुने भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भदौ २३ र २४ गते भएको आन्दोलनमा लुटपाट गरिएका सामान खरिदबिक्री गर्नेलाई कारबाही हुने जनाएको हो।
आन्दोलनको दोस्रो दिन देशभरका सरकारी तथा निजी भवन, व्यापारिक प्रतिष्ठान, बैंक, वित्तीय संस्थालगायतका संरचनाहरूमा लुटपाट तथा आगजनीका घटना भएका थिए।
लुटपाट भएका सामानहरू बजारमा खरिदबिक्री भइरहेको जानकारी प्राप्त भएको र यस सम्बन्धमा अनुसन्धान जारी रहेको भन्दै सीआईबीले यस्ता कार्यमा संलग्न नहुन अनुरोध गरेको छ।
‘…कागजपत्र, ऐतिहासिक दस्तावेज, बहुमूल्य बस्तु, हातहतियार, अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरी विभिन्न माध्यमबाट बजारमा बिक्री वितरण भइरहेको सूचना प्राप्त भएको हुँदो सो सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट अनुसन्धान भइरहेको र त्यस्ता सरसामानहरूको खरिद तथा बिक्री नगर्न नगराउन हुन अनुरोध गर्दछौँ,’ सीआईबीले भनेको छ।
यस्तो चोरी तथा लुटपाट भएका सामानहरूको खरिदबिक्री तथा सञ्चय गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही हुने सीआईबीले जनाएको छ। साथै लुटपाट भएका सामानबारे कुनै जानकारी भए नजिकको सुरक्षा निकायमा खबर गर्न सीआईबीले अनुरोध गरेको छ।