
काठमाडौँ- गत सोमबार र मंगलबार (भदौ २३ र २४ गते) भएको जेनजी समूहको प्रदर्शन र विभिन्न समूहले गरेको आगजनीबाट क्षति भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका अत्यश्यक कामहरू केशरमहलबाट हुने भएको छ।
शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले सिंहदरबारबाट तत्काल काम गर्न सकिने अवस्था नभएकाले नयाँ शिक्षामन्त्रीको आगमनसँगै केशरमहलबाट अत्यश्यक कामहरू सञ्चालन गर्ने गरी तयारी भएको र सिंहदरबारमा काम गर्न मिल्ने अवस्था भएपछि पूर्ववत्रुपमा सिंहदरबारबाट काम सुरु गरिने जानकारी दिए।
शिक्षा मन्त्रालय र केशरमहलको लामो परिचय जोडिएको छ। विगतमा त्यहाँ रहेको मन्त्रालय सिंहदरबारमा सारिएको थियो भने त्यसपछि पनि मन्त्रालयको छात्रवृत्ति शाखा त्यहीबाट सञ्चालित थियो। हाल उक्त शाखा भक्तपुर सानोठिमी लगिएको छ। केशरमहलमा २०२६ देखि केशर पुस्तकालय रहेको छ। विगतमा मन्त्रालय रहेको केशरमहलको भवन हाल पुनः निर्माण भइसकेको छ।