फिल्म क्षेत्रमा आन्दोलनको असर, १७ करोड क्षति

सुस्मिता बजगाईं २९ भदौ २०८२ १६:३३
22
SHARES
फिल्म क्षेत्रमा आन्दोलनको असर, १७ करोड क्षति

काठमाडौँ- भदौ २३ र २४ मा भएको दुईदिने भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनले सरकार परिवर्तनसँगै सामाजिक संरचना र आर्थिक पक्षमा ठूलो प्रभाव परेको छ। त्यस्तै यसको प्रभाव मनोरञ्जन क्षेत्रमा पनि परेको छ।

सामाजिक सञ्जाल अवरुद्ध गर्ने सरकारी निर्णयपछि मनोरञ्जन क्षेत्र अन्योलमा परेको थियो। धेरैको रोजीरोटी खोसिनेमा मानिसहरू त्रसित थिए। कतिपय भने केही दिनमा खुल्ने आशामा थिए। सञ्जाल बन्दको विरोधमा फिल्मकर्मी, संगीत क्षेत्रलगायत कुनै पनि क्षेत्र अछुतो रहन सकेनन्।

यसलगत्तै जेनजी पुस्ताले देशमा भइरहेको भ्रष्टाचारको चरम स्थितिलाई दृष्टिगत गर्दै भदौ २३ मा माइतीघरमा विरोध प्रदर्शन सुरु गरे। केही घण्टामै प्रदर्शनले उग्र रूप लियो। प्रहरीको गोली प्रहारपछि घटनास्थलमै प्रदर्शकारीको ज्यान गयो। ज्यान जानेको संख्या बढेपछि देशमा आतंक मञ्चियो। फलस्वरुप २४ गते देशका धेरै संरचना र शीर्ष दलका नेताहरूको घरमा तोडफोड र आगजनी भयो।

२३ गतेको उग्र रुप देखेर २४ गते सबै हल बन्द गर्ने नेपाल चलचित्र संघले निर्णय गर्‍यो। केही हल सञ्चालनमै थिए। २४ पछि भएको आन्दोलनको भयानक रूपले फिल्म क्षेत्रमा पनि ठूलो प्रभाव पर्‍यो। कतिपय फिल्मका गीत र ट्रेलर रिलिज कार्यक्रम स्थगित भए। देशको परिस्थिति दृष्टिगत गर्दै सबै हलले विज्ञप्तिमार्फत बिहीबार २६ गते सबै हल अनिश्चितकालका लागि बन्द गरेका थिए।

जेनजीकै समर्थनमा अन्तरिम सरकारमा शुक्रबार २७ गते महिला प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भइन्।

नयाँ सरकार गठनपछि फिल्म क्षेत्र पनि चलायमान हुने चरणमा छ। आन्दोलनको असर मनोरञ्जन क्षेत्रमा नपरेको भने होइन। दसैँको छेकोमा भएको आन्दोलनको प्रभावले फिल्म क्षेत्रमा ठूलै धक्का लागेको छ। प्रदर्शन भइरहेका फिल्म बीचमै रोकिएका छन्। केही फिल्मको प्रदर्शन मिति नै अनिश्चित भए।

प्रदर्शनमा ‘रिमै’, ‘गुन्यो चोलो’, ‘कोशेढुङ्गा’,‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘माेहर’ थिए। भदौ २७ प्रदर्शन हुने भनिएको ‘अभिमन्युः च्याप्टर वान’ रोकियो। असोज ३ ‘जारी २’ प्रदर्शन नहुने भएको छ।

फिल्मका निर्देशक उपेन्द्र सुब्बाले प्रचारमा समय नभएको र मिति नजिकिएकोले पहिले तोकेको समय स्थगित गर्नुपरेको बताएका छन्। ‘देशको अवस्था यस्तो छ। आन्दोलनले यत्रो क्षति गरेको छ। यो मारमा कसरी फिल्म चलाउनु?’ सुब्बाले भने, ‘यही समयमा फिल्मको ट्रेलर रिलिज कार्यक्रम स्थगित भयो। हामीले अझै ट्रेलर सार्वजनिक गर्न सकेका छैनौँ। फिल्मको प्रचारतिर पनि लाग्न पाएनौँ। दसैँ/तिहारमा अन्य साथीहरूको फिल्म पनि लाइनमै छ। हामी टिमसँग छलफल गर्दै छौँ। अब केही समय पछि धकेलिन्छ।’

भदौ ३० देखि देशभरका हल सञ्चालनमा

त्यस्तै २४ गतेको आगजनीमा देशभरका भाटभटेनी केन्द्रमा परेपछि भाटभटेनीमै सञ्चालन भइरहेका केही हलमा आगजनी र तोडफोड भएको छ। देशरका एक सय ६५ हलमध्ये ६ हलमा क्षति भएको छ। विराटनगरको भाटभटेनीमा रहेका क्यूएफएक्स हल भने पूर्ण रपमा ध्वस्त भएको नेपाल चलचित्र संघले जनाएको छ। यसको प्रत्यक्ष असर सम्पूर्ण फिल्म जगत्लाई परेको फिल्मकर्मी बताउँछन्।

देशको अवस्था सामान्य बन्दै गएपछि चलचित्र संघले फिल्म क्षेत्रलाई चलायमान बनाउन लागेको हो। संघले भोलिदेखि देशभरका सबै हल सञ्चालन गर्ने निर्णय गरेको संघका अध्यक्ष नरेन्द्र महर्जनले बताएका छन्। आइतबार बसेको बैठकबाट संघले हल सञ्चालन गर्ने निर्णय गरेको हो। विराटनगरको भाटभटेनीमा रहेको क्यूएफएक्स हलबाहेक सबै हल भोलिदेखि खोल्ने निर्णय भयो,’ अध्यक्ष महर्जनले भने। उनका अनुसार भदौ ३० गतेदेखि देशभर १ सय ६४ हल सञ्चालन हुनेछ।

फूलपातीमा तीनवटै फिल्म प्रदर्शन नरोकिने

दसैँको फूलपातीमा तीत फिल्म प्रदर्शन हुँदै छ, ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’। यी तीनओटै फिल्म असोज १३ मा हलमा लाग्दै छ। फिल्मका निर्माण टिमले प्रदर्शन नरोक्ने बताएका छन्।
‘माइतीघर’का निर्माता रोहित अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत फिल्म नरोकिने जानकारी दिएका छन्। उनले टिकटकमा प्रचार अगाडि बढाइरहेको समेत बताएका छन्। उनले लेखेका छन्, भोलिदेखि आफ्नै कर्ममा। यो हप्ता फिल्मको ट्रेलर रिलिज हुनेछ। माइतीघर असोज १३ मै। टिकटकमा भिडियो सुरु।’

‘बलिदान’ का निर्माता सन्तोष सेनले पनि सामाजिक सञ्जालमार्फत नै फूलपातीमै प्रदर्शन हुने बताएका छन्। उनले लेखेका छन्, ‘बलिदानको ट्रेलरले कतिसम्म मातृभूमिप्रेमीको खुन उमाल्छ भन्ने सीमा छैन्। यो देसैँमा ज्यान बलिदान’। ‘हरिबहादुरको जुत्ता’ पनि असोज १३ मै प्रदर्शन हुने फिल्मका निर्माता सरोज ओलीले बताए।

जेनजी आन्दोलनले ६ हलमा आगजनी र तोडफोड

जेनजी आन्दोलनको दोस्रो दिन देशभरका संरचनामा आक्रमण हुँदा फिल्म हलमा पनि क्षति भएको छ। नेपाल चलचित्र संघले देशका पाँचवटा हलमा आगजनी र तोडफोडबाट १७ करोड रुपैयाँ बराबरको क्षति भएको विवरण निकालेको छ।

क्यूएफएक्स सिनेमाजअन्तर्गत विराटनगरस्थित भाटभटेनी, बुटवलको भाटभटेनी र भक्तपुरको भाटभटेनीमा क्षति पुगेको छ। अन्यमा आइएनआई सिनेमाजअन्तर्गत गोंगबु नयाँ बसपार्कस्थित ल्होत्से मल र बानेश्वरस्थित एनबी सेन्टरका हल र बालाजुमा रहेको अष्टनारायण हल रहेको छ।

यसमध्ये विराटनगरस्थित भाटभटेनीमा रहेको क्यूएफएक्स हल पूर्ण रुपमा क्षति भएको छ। क्यूएफएक्स सिनेमाजको तीनवटै हलमा गरी करिब १७ करोड क्षति भएको संघको आकलन छ। त्यस्तै, ल्होत्से मलको भुइँतला र टिकट काउन्टरमा तोडफोड र आगजनी भएको छ। आगजनीले ६ तलामाथिको हलको उपकरणमा असर परेको जनाइएको छ। एनबी सेन्टर र अष्टनारायण हलको बाहिरी संरचना तोडफोड भएको छ।

जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरका हल गत मंगलबार अर्थात् भदौ २४ देखि बन्द भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast