सुमना श्रेष्ठ : समानुपातिक सांसद बनिन्, मन्त्री भएर शिक्षक चिढ्याइन् अनि पार्टी नै छाडिन्

हिमाल प्रेस २९ भदौ २०८२ १३:५३
280
SHARES
सुमना श्रेष्ठ : समानुपातिक सांसद बनिन्, मन्त्री भएर शिक्षक चिढ्याइन् अनि पार्टी नै छाडिन्

काठमाडौँ- २०८१ जेठ दोस्रो साता तत्कालीन प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै गरेको टिप्पणीले राजनीतिक वृत्त मात्र होइन, सार्वजनिक बहससमेत तातेको थियो। ओलीले भनेका थिए, ‘विदेशीसँग बिहे गरेको सुन्छु, कता हो, नेपाल घुम्न आएकी मन्त्री पो भइन्।’

यस वक्तव्यलाई व्यक्तिगत जीवनमाथिको प्रहारका रूपमा लिइयो। अर्कोतर्फ सुमना श्रेष्ठको मन्त्रीकालीन कामकारबाही र शैली पनि आलोचनामुक्त हुन सकेनन्। ।

२०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी सुमना पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा २०८० फागुनमा शिक्षा मन्त्रालयको नेतृत्वमा पुगेकी थिइन्। मन्त्री हुँदा सुमनाले ठोस नीति-सुधार वा दीर्घकालीन कार्यक्रम अघि सार्न नसकेको टिप्पणी गरिन्छ। सामाजिक सञ्जालमा बूढानीलकण्ठ स्कुलको भर्ना विज्ञापन सेयर गरेर लोकप्रियता कमाउने प्रयास, सार्वजनिक कार्यक्रममा च्यातिएको कमिज लगाएर हिँडेको दृश्य उनको कामभन्दा बढी चर्चामा आएकै हुन्।

२०८१ वैशाखमा इलाममा भएको निर्वाचन प्रचारमा सरकारी गाडी दुरुपयोग गरेको आरोप पनि उनले मन्त्री भएकै बेला खेपिन्। यस्तै श्रेष्ठले मन्त्री हुँदा शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति आवश्यक नपर्ने प्रावधान ल्याइन् तर त्यसलाई संस्थागत बनाउन सकिनन्। शिक्षकलाई राजनीतिक दबदबाट मुक्त गर्ने, मूल्यांकन स्वतन्त्र निकायमार्फत गर्ने, सरुवा पारदर्शी बनाउने तथा जनप्रतिनिधि-निजामती कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने प्रावधानसमेत शिक्षा विधेयकमा समावेश गर्ने उनको प्रयास कागजमै सीमित रह्यो।

शिक्षाविद् बालचन्द्र लुइटेलका अनुसार श्रेष्ठले शिक्षामन्त्रीको रूपमा समन्वयकारी भूमिका निर्वाह गर्न नसक्नु उनको असफलताको मूल कारण थियो। शिक्षक, शिक्षा प्रशासन र सरोकारवालाबीच आवश्यक विश्वास निर्माण गर्न नसकेको आरोप पनि उनीमाथि लागेको थियो। कतिपय शिक्षक प्रतिनिधि उनी मन्त्री भएका बेला  चिढिएर छलफलमै सहभागी भएनन्।

श्रेष्ठमाथि मन्त्री हुँदा संसद्‌मा प्रश्नको जवाफ दिन इन्कार गरेको आरोप पनि छ। २०८१ असारमा सांसदहरूले उठाएको प्रश्नमा उनी मौन बसेकी थिइन्। यस घटनाले संसद्मा कठोर आलोचक भएर देखिए पनि जबाफ दिन नसक्ने नेताको छवि बनाएको विश्लेषकहरूको टिप्पणी छ।

सुमनाले शिक्षामन्त्रीका रूपमा केही नयाँ प्रस्ताव ल्याए पनि तिनलाई कार्यान्वयन गर्ने राजनीतिक दृढता र प्रशासनिक क्षमता देखाउन सकिनन्। उनको कार्यकाल उपलब्धिभन्दा बढी प्रदर्शन, लोकप्रियता-मुखी शैली र अधुरा प्रयासका कारण चर्चित थिए।

पार्टीको भूमिका प्रभावकारी रूपमा गर्न नसकेको आरोप उनीमाथि छ। श्रेष्ठले २०८१ सालमा ‘वीरगन्जदेखि काठमाडौँसम्म यात्रा’ अभियान थालेकी थिइन्, तर त्यो अधुरै रह्यो। उनी कर्णाली र मधेश प्रदेशका केही गाउँ पुगे पनि अभियान पूरा गर्न सकिनन्। जेठमा उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिँदै ‘एक पद, एक व्यक्ति’को नारा अघि सारिन्। तर यो कदमलाई समेत कतिपयले असफल अभियानसँग जोडेर व्याख्या गरेका थिए।

अनि पार्टी त्याग गरिन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी त्याग गरेकी छन्। आइतबार पार्टी केन्द्रीय समितिको फेसबुक ग्रुपमा श्रेष्ठले रास्वपा त्यागेको जानकारी गराएकी हुन्।

उनले त्यहाँ लेखेकी छन्, ‘अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला। मैले पार्टी छाडेँ।’

उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्ने तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको उनको भनाइ छ। उनले आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराएकी छन्।

‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्नेरु’ उनले भनेकी छन्, ‘पार्टीभित्र आलोचना गर्नेहरूकाविरुद्धमा मिडिया ट्रायल गर्ने?’

यो पनि

ईसीडी र विद्यालय कर्मचारीको मनोबल गिराउँदै शिक्षामन्त्री श्रेष्ठ

शिक्षक चिड्याउँदै प्रचारमुखी बनिन् शिक्षामन्त्री सुमना

प्रकाशित: २९ भदौ २०८२ १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast