भौतिक संरचना ध्वस्त बनाउनेलाई खोजीखोजी कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस २९ भदौ २०८२ १२:४१
30
SHARES
भौतिक संरचना ध्वस्त बनाउनेलाई खोजीखोजी कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री सुशीला कार्की आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै। तस्बिर : रासस

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवा समूहले गरेको आन्दोलनका क्रममा भौतिक संरचना नष्ट गर्ने समूह पहिचान गरी कडा कारबाही गर्ने प्रतिबद्धता जनाएकी छन्। सिंहदरबारमा आइतबार पदभार ग्रहण गरेपछि सरकारका सचिवहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारी भवनमा भएको व्यापक क्षतिबारे गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो वचन दिएकी हुन्।

प्रधानमन्त्री कार्कीले सरकारका महत्त्वपूर्ण भवनहरूमा छानी-छानी आगजनी गर्नुलाई ‘कुनै नियोजित घटना हो कि जस्तो शंका’ लागेको बताउँदै दोषीहरूलाई खोजी–खोजी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। उनी भनिन्, ‘अत्यावश्यक कागजपत्रलाई माटो बनाउनेमाथि खोजीखोजी कारबाही गर्नुपर्छ।’

उनले कार्यालयका सम्बन्धित फाइल र विवरणहरू नष्ट हुँदा व्यवस्थापकीय काम शून्य अवस्थामा पुगेको बताइन्। ‘सिंहदरबारभित्रका अमूल्य फाइल नष्ट भए। ती कागजपत्रबाट देश चलाइएको थियो, ती नष्ट भएका छन्’, उनले भनिन्।

प्रधानमन्त्री कार्कीले देशभरिका सुरक्षाकर्मीले प्रयोग गर्ने वाहन सबै जलेकाले अर्को खरिद नगरी नहुने अवस्थामा पुगेको जानकारी दिइन्।

सरकारले अहिले कामचलाउ संरचना बनाएर पनि प्रशासन सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। कार्कीले सबै राजनीतिक तथा सामाजिक पक्षसँग सहकार्यको आग्रह गरिन्। उनले भनिन, ‘अपराधीहरूले मुलुकविरुद्ध गरेको चुनौती हो- त्यसलाई सबै मिलेर चिर्नुपर्छ। जनतालाई गुहारेर भए पनि पुनर्निर्माण गरौँ। सबै मिलौँ। एकले अर्कालाई आलोचना नगरौँ।’

प्रधानमन्त्रीले आगामी दिनमा नयाँ पुस्ता (जेनजी) को सोचअनुसार काम गर्नुपर्ने बताइन्। उनले २७ घण्टाको आन्दोलनमा यति ठूलो परिवर्तन आएको बताइन्। युवाहरूले सुशासन र आर्थिक समानताको माग गरेको हुँदा सरकारले त्यसलाई ध्यानमा राखेर काम गर्न उनले निजामती कर्मचारीलाई निर्देशन दिइन्।

उनले आन्दोलनका क्रममा भएको क्षतिको आकलन गरी कार्ययोजना बनाइने स्पष्ट पारिन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘मृतकका परिवारका सदस्यको आँसु देखेर म निकै दुःखी भएकी छु।’
कार्कीले आफू प्रधानमन्त्री पदमा रसास्वादनका लागि नभई सडकको आवाज सुनेर आएको बताइन्। साथै उनले ६ महिना जिम्मेवारी सम्हालेर नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिने आफ्नो योजनाबारे जानकारी दिइन्। प्रधानमन्त्री कार्कीले यसका लागि सबैको साथको आवश्यक रहेको बताइन्।

प्रकाशित: २९ भदौ २०८२ १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast