मुलुक शोकमा डुबेको भन्दै रोकियो नाइट रन

हिमाल प्रेस २९ भदौ २०८२ ११:५४
6
SHARES
मुलुक शोकमा डुबेको भन्दै रोकियो नाइट रन फाइल तस्बिर

नेपालगन्ज- असोज ३ गते हुने तय गरिएको नेपालगन्ज १० नाइट रन स्थगित गरिएको छ। देशको विषम परस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो।

नाइट रन आयोजक समितिको भर्चुअल बैठकले नाइट रन स्थगित गर्ने निर्णय गरेको हो। विश्व दौडको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को पूर्णकालीन सदस्यता लिएपछि आधिकारिक रूपमा नाइट रनको दोस्रो संस्करण गर्न लागिएको थियो।

एम्सका नेपाल प्रतिनिधि तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने, ‘शुभेच्छुकहरुबाट हामीले दौड तोकिएकै मितिमा गर्नुपर्ने र स्थगित गर्नुपर्ने बराबरी सुझाव पाएका थियौँ। तर युवाहरुको ऐतिहासिक आन्दोलन तथा बलिदान लगत्तै भड्किएको हिंसाले भौतिक तथा मानवीय क्षतिले मुलुक शोकमग्न रहेका बेला तत्कालै दौड आयोजना गर्न उपयुक्त नहुने निष्कर्षमा हामी पुगेका छौँ।’

आयोजकले धावक तथा दौडप्रति रुचि भएका तमाम व्यक्तिहरुप्रति पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। ‘सयौँ व्यवसायिक धावकहरुले अनलाइन फर्म भर्नुभएको छ, धेरै ठाउँबाट आयोजनासम्बन्धी जिज्ञासा आइरहेको छ। यस्तो बेला स्थगित गर्नुपर्दा हामी दुःखी छौँ’, ठकुरीले भने, ‘यसवर्षकै लागि रोकिएको होइन। उपयुक्त मितिमा नाइट रन गर्छौँ।’

एम्सको पूर्णकालीन सदस्यताको मान्यतासँगै यस वर्षदेखि नेपालगन्ज १० नाइट रनको विजेतालाई थाइल्यान्डको पर्यटकीय सहर बाङ्सेनमा हुने विश्वस्तरीय सडक दौडमा सहभागी गराउने तयारी थियो। यसले खेलाडीलाई बेग्लै उत्साह र ऊर्जा थपेको थियो। नाइट रन स्थगित गरे पनि आयोजक टिम असोज २८ गते हुने गौघाट ग्रिन रन र मंसिर ६ गते हुने धारा नेपालगन्ज म्याराथनको तयारीमा जुटिसकेको छ। साथै स्थानीय तहमा सरसफाइ एवं अन्य काममा पनि धारा नेपालगन्ज म्याराथनको टिम परिचालन हुनेछ।

२०७२ सालमा मधेश आन्दोलनका नाममा साम्प्रदायिक दंगाको झल्कोसँगै समाज विभाजित हुने अवस्था आएपछि समुदायलाई एकत्रित बनाउने उद्देश्यले नेपालगन्ज म्याराथन २०७२ मंसिर ५ गते सुरु गरिएको थियो।

हरेक जात, धर्म, सम्प्रदाय तथा विभिन्न पेसा, व्यवसाय र उमेर समुहलाई एकैपटक एकै थलोमा एउटै भूमिकामा दौडमार्फत ल्याउन सक्ने एकमात्र इभेन्ट सडक दौड भएकाले म्याराथन आयोजनाको परिकल्पना गरिएको थियो। ११ वर्षदेखि निरन्तर चलेको धारा नेपालगन्ज म्याराथन सम्भवतः नेपालको शीर्ष इभेन्ट हो। एम्सको दुई इभेन्ट पूर्णकालीन सदस्य बन्ने नेपालगन्ज सम्भवतः नेपालको एकमात्र सहर हो।

प्रकाशित: २९ भदौ २०८२ ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast