
गण्डकी- पोखरा महानगरपालिका २८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यो वर्ष मरिचका बिरुवा बिक्रीबाट दुई लाख ७५ हजार आम्दानी गरेका छन्। अमृतकुञ्ज पर्माकल्चर अर्ग्यानिक फार्ममा उत्पादित एक हजार १०० बिरुवा बिक्री गरेर उनले आम्दानी गरेका हुन्।
फार्ममा उत्पादन भएका बिरुवा पोखरा महानगरपालिका, पोखरा १९ पुरन्चोरस्थित ठूलढुंगा सामुदायिक वन उपभोक्ता समूह, माछापुच्छ्रे गाउँपालिकाका किसान तथा अन्य व्यक्तिले खरिद गरेका बाँस्तोलाले जानकारी दिए।
रोग कीराको प्रकोप नहुने, बाँदर र असिनापानीले पनि खासै असर नगर्ने मरिचखेतीबाट मनग्य आम्दानी हुनुका साथै वन तथा वातावरण संरक्षणमा पनि महत्त्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ। महानगरले खरिद गरेका बिरुवा यसै वडाका किसानलाई वितरण गरिएको छ।
साढे तीन दशकअघि भण्डार ढिक्काका आत्रय गुरुसँग दुई बिरुवा खरिद गरेर ल्याएर मरिचखेती गरेको उनले बताए। अहिले फैलिएर १०० भन्दा बढी रुखबाट उत्पादन दिइरहेको बाँस्तोलाले बताए। ‘मरिचको बिरुवा प्रतिबिरुवा २५० का दरले बिक्री गर्दै आएको छु।
‘आगामी वर्षका लागि दुई हजार बिरुवा उत्पादन गरेर पाँच लाखभन्दा बढी आम्दानी गर्ने तयारी छ’, उनले भने। घर वरिपरिको भिरालो पाखो जमिनमा हुर्केका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सयभन्दा बढी हरिया रूखका फेदमा लगाएका मरिचका बोटले निरन्तर फल दिँदै आएको बाँस्तोलाले बताए।
उत्पादित फल बिक्रीबाट वार्षिक एक लाख रुपैयाँदेखि तीन लाखसम्म आम्दानी हुने गरेको छ। सुकाएको मरिच प्रतिकिलो दुई हजारमा खरिद गर्न व्यापारी घरमै आउने गरेका छन्।
लगभग ३० रोपनी क्षेत्रफलमा फैलिएको बाँस्तोलाको फार्ममा विभिन्न प्रजातिका जडीबुटी, अगरउड, रक्तचन्दन, रातोकेरा, सितलचिनी, फलफूललगायत बोटबिरुवा हुर्केका छन्। सरकारीस्तरबाट हालसम्म कुनै पनि सुविधा प्राप्त नभएको उनले बताए। रासस