
काठमाडौँ- हालै ‘सुशासन, भ्रष्टाचारको अन्त्य तथा सामाजिक सञ्जालको स्वतन्त्रता’ जस्ता मुद्दा उठाउँदै जेनजी युवाको अगुवाइमा देशभर भएको आन्दोलनका कारण लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भएकोमा शिक्षा क्षेत्रसँग सम्बन्धित प्रमुख संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालयलाई क्रमशः खोल्दै जान अपिल गरेका छन्।
नेपाल मन्टेश्वरी एशोसिएसन (एनएमए) की अध्यक्ष पवित्रा लिम्बु, अपेनका अध्यक्ष बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सनका अध्यक्ष सुवाष न्यौपाने तथा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘२०८२ भदौ २३ गते सुरक्षामा देखिएको कमजोरीका कारण आन्दोलन नियन्त्रणमा असफल हुँदा विद्यार्थी, युवा, प्रहरी र सर्वसाधारणको ज्यान गएको, सयौं घाइते भएका र सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको घटनाले शिक्षा क्षेत्र स्तब्ध भएको छ।’
शिक्षा संगठनहरूले आन्दोलनमा ज्यान गुमाएका विद्यार्थी, प्रहरी तथा सर्वसाधारणप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको पूर्ण उपचार सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ। घाइते तथा अभिभावक गुमाएका विद्यार्थीलाई छात्रवृत्ति व्यवस्थासहित सहयोग गर्ने प्रतिबद्धतासमेत विज्ञप्तीमार्फत जनाइएको छ।
विज्ञप्तीमा भनिएको छ,‘अन्तरिम सरकार गठन भइसकेको र कर्फ्यु तथा प्रशासनिक आदेश क्रमशः हट्दै गएको परिस्थितिलाई मध्यनजर गर्दा अब अवस्था सहज बन्दै जाने विश्वासका साथ भदौ २९ गतेदेखि विद्यालयहरू क्रमशः खोल्दै जान सकिनेछ।’