
काठमाडौँ- जेनजी प्रदर्शनबाट तोडफोड र आगजनी भएका प्रधानमन्त्री कार्यालयलगायत विभिन्न मन्त्रालयको सरसफाइका साथै क्षतिको विवरण संकलन सुरु गरिएको छ।
शनिबार कर्मचारीहरु आ–आफ्ना मन्त्रालय पुगेर सरसफाइका साथै क्षतिको विवरण संकलन गर्न थालेका हुन्। त्यस्तै क्षति पुगेका मन्त्रालयबाट बचेका फाइल लगायतका सामानहरुलाई सुरक्षित राख्न थालिएको छ। तोडफोड र आगजनी भएका विभिन्न मन्त्रालयका परिसरमा सवारीसाधन समेत ध्वस्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनीका कारण क्षति भएपछि गृह मन्त्रालयको नवनिर्मित भवनमा सो कार्यालय सारिएको छ।
सिंहदरबारबाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि आगजनीबाट पूर्णरुपमा जलेको छ। आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ मन्त्रालयमा क्षति भएको छ।
त्यसैगरी शिक्षा मन्त्रालय, सामान्य प्रशासन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा बढी क्षति पुगेको छ।