
काठमाडौँ- भारतले सुशीला कार्कीको नेतृत्वमा बनेको नयाँ अन्तरिम सरकारलाई स्वागत गरेको छ। कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएलगत्तै भारतको विदेश मन्त्रालयले वक्तव्य निकालेर स्वागत गरेको हो।
नेपालमा अन्तरिम सरकार गठन गर्ने कदमले शान्ति र स्थायित्वलाई प्रवर्द्धन गर्ने भारतले विश्वास व्यक्त गरेको छ।
‘यस कदमले नेपालको शान्ति र स्थायित्वलाई प्रवद्र्धन गर्छ भन्ने विश्वास लिएका छौँ,’ विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ,‘निकटतम छिमेकी, साझा लोकतन्त्र तथा दीर्घकालीन विकास साझेदारका रूपमा भारतले नेपाल र नेपाली जनताको समृद्धि तथा कल्याणका लागि घनिष्ठ सहकार्य जारी रहने छ।’
जेनजीको आन्दोलनपछि शुक्रबार राति पूर्वमुख्यन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ जनादेशका लागि ६ महिनाभित्र चुनाव गराउने गरी उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
प्रधानमन्त्रीमा नियुक्त भएसँगै कार्कीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन्। संसद विघटन गर्ने सिफारिस राष्ट्रपति पौडेलले तत्काल सदर गरेका थिए। आगामी निर्वाचनका लागि फागुन २१ गतेको मिति तोकिएको छ।
मोदीको पनि शुभकामना
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीलाई शुभकामना दिएका छन्। उनले शनिबार सामाजिक सञ्जाल एक्समार्फत नेपाली, हिन्दी र अंग्रेजी भाषामा शुभकामना दिएका हुन्।
‘नेपालको अन्तरिम सरकारका प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्मानीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ,’ मोदीले लेखेका छन्।