
काठमाडौँ– विघटित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गर्नुभएकामा नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई तथा शुभकामना दिएकी छन् ।
पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त हुनु भएलगत्तै रानाले शुभकामना दिँदै यो उपलब्धि सम्पूर्ण नेपाली महिला मात्र होइन, सम्पूर्ण राष्ट्रकै गौरवको विषय बनेको बताएकी छन् । नेपालको राजनीतिक, सामाजिक र कानुनी क्षेत्रमा महिलाको अधिकार, समानता र सशक्तीकरणका लागि लामो समयसम्म गरेको कार्कीको संघर्ष, इमानदारिता र निष्पक्ष योगदानको उनले प्रशंसा गरेकी छन् ।
बधाई सन्देशमा भनिएको छ, `महिलाको क्षमता र नेतृत्वप्रति विश्वास जगाउँदै नेपालको लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन तपाईँको कार्यकाल ऐतिहासिक साबित हुने विश्वास लिएको छु । संविधानले सुनिश्चित गरेका महिला अधिकार, समावेशीता, न्याय र सुशासनका सवालमा तपाईँको नेतृत्वले मुलुकलाई नयाँ ऊर्जा दिनेछ भन्ने अपेक्षा गर्दछु ।´
उनले कलिला बालबालिकाको बलिदानबाट आफूहरू हामी मर्माहत भएको उल्लेख गर्दै त्यही बलिदानको जगमा अर्को इतिहास कोर्दै आमालाई पहिलो महिला प्रधानमन्त्री बनाएको विज्ञप्तिमा बताएकी छन् । पूर्व उपसभामुख रानाले हजारौँ आमाहरू रोए पनि महिलाको एउटा इतिहास कोरिएकामा खुसी व्यक्त गरेकी छन् ।