कार्यपालिका र न्यायपालिका दुवैको उच्च तहमा पुग्ने पहिलो महिला सुशीला कार्की

हिमाल प्रेस २७ भदौ २०८२ २१:४३
कार्यपालिका र न्यायपालिका दुवैको उच्च तहमा पुग्ने पहिलो महिला सुशीला कार्की

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीका रूपमा शपथ लिएकी छन्। आज राति ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।

यससँगै उनी नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी छन्। नेपालमा न्यायालय स्थापनाको ६५ वर्षभन्दा लामो इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी कार्की नेपालमा प्रजातन्त्र आएको ७५ वर्षमा पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्। जेनजी समूहले गरेको आन्दोलनका उपलब्धिका रूपमा कार्की निर्दलीय प्रधानमन्त्री भएकी हुन्।

उनले २०७३ असार २७ देखि २०७४ जेठ २४ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन्।

जेनजी समूहबाट रुचाइएकी कार्की २००९ सालमा विराटनगरको शंकरपुरमा जन्मिएकी हुन्। उनी बुबा डिल्लीराम र आमा लीलादेवीका सात सन्तामध्ये जेठी हुन्। उनका चार बहिनी र दुई भाइ छन्।

कार्कीले महेन्द्र मोरङ क्याम्पसबाट २०२८ सालमा बीए र बनारस हिन्दु विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी थिइन्। त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हासिल गरेकी थिइन्।

उनले २०४२ देखि २०४६ सालसम्म महेन्द्र बहुमुखी क्याम्पस, धरानमा शिक्षण पेसा गरेकी थिइन्। उनी विराटनगरस्थित पुनरावेदन अदालतको बार अध्यक्षसमेत थिइन्। २०३५ सालबाट वकालत सुरु गरेकी उनी सन् २०६५ मा सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा प्रवेश गरेकी थिइन्।

२०६५ माघ ९ मा सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी उनी २०६७ मंसिर २ मा स्थायी न्यायाधीश बनेकी थिइन्।

प्रधानन्यायाधीश रहेका बेला कार्कीविरुद्ध तत्कालीन गठबन्धनका कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले महाभियोगको प्रस्ताव दर्ता गरेका थिए, जुन सफल भएन।

नेपाली कांग्रेसको कोइराला परिवारसँग निकट पारिवारिक पृष्ठभूमिमा जन्मिएकी कार्कीले नेपाली कांग्रेसकै तत्कालीन नेता दुर्गा सुवेदीसँग विवाह गरेकी थिइन्।

कांग्रेस नेता जेपी गुप्ता सञ्चारमन्त्री रहेकै बेला भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि न्यायाधीशका रूपमा सुशीला कार्कीको चर्चा हुन थालेको थियो। भ्रष्टाचारका मुद्दा प्रायः आफ्नो इजलासमा पारिदिने गरेको अभिव्यक्ति पनि कार्कीले दिँदै आएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast