
काठमाडौँ- जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रुपमा उल्लेखनीय क्षति ब्यहोरे पनि अर्थतन्त्रको विकासका लागि ‘कोर्स करेक्सन’ को अवसर प्रदान गरेको अर्थतन्त्रका जानकारहरुले बताएका छन्। उनीहरुले जेनजीको प्रदर्शन बेथिती, कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यो समयलाई ‘कोर्स करेक्सन’ को रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए। यसकालागि निजी क्षेत्रमा आशा जगाउने तथा आत्मविश्वास बढाउने काम पनि सँगसँगै गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको भर्चुअल अन्तरक्रियामा नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले भ्रष्टाचारका विरुद्ध मुलुकभरबाट मानिसहरु एकसाथ जाग्नुलाई सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिए। ‘नयाँ पुस्ताको अगुवाइमा मुलुकभरबाट भ्रष्टाचारका विरुद्ध मानिसहरु एकसाथ जाग्नु हाम्रा लागि उपलब्धि हो, यो अवसरलाई सदुपयोग गर्दै सरकारले पुनःनिर्माण, नयाँ लगानीको अवसर सृजना र लगानीकर्ताको आत्मविश्वास बढाउनुपर्ने विषयलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने।
मुलुकमा भ्रष्टाचारविरुद्ध ठूलो धक्का दिनु पर्ने आवश्यकता रहेको बताउँदै खनालले भने, ‘त्यो धक्का बोलेरमात्र नहुने रहेछ, त्यसका लागि अलिकति क्षति पनि बेहोर्नु पर्ने हुँदोरहेछ। तर युवा पुस्ताको यो प्रयासले गर्दा आगामी केही समयसम्म कसैले पनि देखिने गरी स-साना भ्रष्टाचार गर्ने आँट गर्लान जस्तो लाग्दैन।
उनले अहिलेको समस्या प्राकृतिक र विपत्ती नभई आन्तरिक रुपमा मानव सृजित समस्या भएकाले दातृ निकायबाट सहयोग प्राप्त हुने अवस्था सहज नभएको औँल्याए। ‘यसप्रकारको अवस्था २०३६ सालको जनआन्दोल र माओवादीको द्वन्द्वकालमा पनि देखिएको थियो, तत्कालीन समयमा भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो, सञ्चार सेवा अवरुद्ध भएको अवस्था थियो,’ उनले भने, ‘तर अहिले त्यो अवस्था छैन, त्यसैले हामीलाई फेरि उठ्नका लागि ठूलो समस्या हुन्छ जस्तो लाग्दैन।’
पूर्वसचिव खनालले अन्य मुलुकको तुलनामा नेपाल छिटो ‘रिकभर’ गर्ने मुलुक भएको उल्लेख गर्दै प्रदर्शनको तेस्रो दिनमै स्थिरतातर्फ उन्मुख हुनु मुलुकका लागि सकारात्मक पक्ष भएको बताए। उनले यो प्रदर्शनले भ्रष्टाचार र कुशासन हटाउँदै शासकहरुलाई सच्चिनका लागि पनि सन्देश दिएको प्रतिक्रिया दिए।
यो प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरु रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले पुन: सुधार हुन पनि धेरै समय नलाग्ने बताए। तर यसका लागि सञ्चारमाध्यमले सूचना दिँदा सत्यतथ्य र संयमित हुन भने जरुरी रहेको उनको भनाइ छ।
‘सञ्चारमाध्यम पनि संयमित हुन जरुरी छ, हिलटन होटल प्रकरण जस्ता दोहोरिन दिनुहुन्न, राजनीतिक प्रतिशोषका कारण भाटभटेनीमा ठूलो आक्रमण भएको छ,’ उनले भने, ‘बलियो अर्थतन्त्र र समाज निर्माणमा सञ्चारमाध्यमको पनि ठूलो भूमिका हुन्छ।’
उनले अर्थतन्त्रको गतिशिलताका लागि सूचना महत्वपूर्ण औजार भएको पनि बताए। खनालले बलियो अर्थतन्त्र निर्माणका लागि समावेशिता, समान वित्तीय पहुँच र समानता कायम गर्न सक्नुपर्नेमा जोड दिए।
अर्थशास्त्री डा. समर खतिवडाले जेनजी प्रदर्शनले नेपाललाई ‘कोर्स करेक्सन’ को अवसर दिएको टिप्पणी गरे। ‘जेनजी प्रदर्शनले ‘क्रोनी क्यापिटालिजम’ लाई भत्काउने प्रयास गरेको छ, नयाँ पुस्ताले सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ,’ उनले भने, ‘यो फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को ग्रे लिस्टबाट नेपाललाई निकाल्नका लागि प्राप्त भएको अवसर पनि हो।’
खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताए। उनले भने, ‘अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र पर्यटनमा ठूलो सम्भावना छ, यद्यपि विदेशी पर्यटकको प्रवेश विन्दु त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा समस्याका कारण केही पर्यटक निरुत्साहित हुन्छन् कि भन्ने भय भने विद्यमान छ, सरकारले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ।’
उनले अबको अर्थतन्त्रमा खुला, पारदर्शी, स्वतन्त्र नीति अपनाउनुपर्नेमा जोड दिए।
उनले जेनजीको प्रदर्शनले प्रत्यक्ष विदेशी लगानीमा ठूलो असर नपर्ने बताए। ‘हामीले ल्याइरहेको विदेशी लगानी कुल ग्राहस्थ्य उत्पादनको केही प्रतिशत मात्रै भएकाले ठूलो चिन्ता लिनुपर्ने अवस्था छैन, बरु अब यसलाई बढाएर कसरी तीन प्रतिशत बनाउन सकिन्छ भन्ने विषयमा काम गर्न सकिन्छ,’ उनले भने।