
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल संकटकाल लगाएर प्रतिनिधिसभा भंग गर्न तयार भएका छन्। पौडेल प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्री नियुक्ति गर्न सहमत भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार साँझ वार्ताका लागि शीतल निवास फर्किएको उच्च स्रोतले जनाएको छ।
शुक्रबार बिहान भएको छलफलमा राष्ट्रपति पौडेलले संसद् विघटन गर्ने विषयमा आनाकानी गरेपछि कार्की घर गएकी थिइन्। उनको अनुपस्थितिमा राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग लामो छलफल गरेका थिए। यसबीचमा सेनाभित्र पनि छलफल भएको थियो। सेनाले कार्कीलाई वार्ताका लागि शीतल निवासमा फर्काउन सहजीकरण गरेको एक उच्च अधिकारीले बताए।
वार्तामा कार्कीसँग आफूले गर्ने कार्यको स्पष्ट खाका माग गरिने स्रोतको दाबी छ। कार्कीसँग प्रधानमन्त्री भएपछि कसरी अघि बढ्ने र मन्त्रिपरिषद् कस्तो बनाउने भन्ने विषयमा खाका माग गरिएको हो। स्रोतले भने, ‘खाका प्रस्ट नभएमा अलमल हुन सक्ने भएकाले माग गरिएको हो।’ त्यसपछि उनलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन्।
एक दिन ढिला भए पनि सबै प्रक्रिया पुर्याएर प्रधानमन्त्री नियुक्त गर्ने तयारी नेपाली सेनाको छ। ‘अहिले सहमति भएमा तत्काल प्रधानमन्त्री नियुक्ति हुन सक्छ। नभए पनि संकटकाल लगाएर राष्ट्रपतिले जिम्मेवारी लिन सक्छन्’, स्रोतको दाबी छ।
जेनजी प्रतिनिधिहरूसँग खास कुरा स्पष्ट नहुने भएपछि कार्कीलाई ल्याइएको एक सैन्य अधिकारीले बताए। कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुअघि निर्णायक छलफल भइरहेको अधिकारीहरूले बताएका छन्। खाका प्रस्तुत भएमा र सहमति जुटेमा कार्कीलाई सकभर आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको छ।