धरानको भाटभटेनी आगजनीमा चार जनाको जलेर मृत्यु, अस्तु मात्रै भेटियो

विवेक विवश रेग्मी २७ भदौ २०८२ १५:४७
236
SHARES
धरानको भाटभटेनी आगजनीमा चार जनाको जलेर मृत्यु, अस्तु मात्रै भेटियो

इटहरी – धरानस्थित भाटभटेनी सुपरमार्केटमा भदौ २४ गते भएको आगजनी र लुटपाटमा संलग्न चार जनाको जलेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार मृतकहरू सबै चोरी र आगजनीका लागि भित्र पसेका थिए। आगो तीव्र गतिमा फैलिँदा उनीहरू भित्रै फसेर जलेको हुनसक्ने उनले बताए।

उनका अनुसार तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको थियो। शव खरानी बनेको अवस्थामा रहेकाले पहिचान खुल्न बाँकी छ।

यसअघि शुक्रबार बिहान दोस्रो तलामा एक जनाको शव भेटिएको थियो। प्रहरीले थप खोजी गर्दा शुक्रबार दिउँसो चौथो तलामा थप तीन जनाको शव फेला परेको हो। ‘मृतकको शरीर सबै जलेको र अस्तु मात्रै भेटिएकाले को हुन् भन्नेबारे खुल्न बाँकी छ,’ प्रहरी निरीक्षक जीवन कुँवरले भने, ‘प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर अस्तु नियन्त्रणमा लिएको छ।’

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। आगजनी तथा लुटपाट गर्नेलाई प्रहरीले निगरानीसमेत बढाएको छ। यसैगरी लुटपाटमा संलग्न को हुन् भन्नेबारे सुक्ष्म अनुसन्धान भइरहेको बताइएको छ।

आगजनीका कारण करोडौँ मूल्य बराबरको सामान जलेर नष्ट भएको र लाखौँ बराबरको चोरी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जेनजी को नाममा घुसपैठ हुँदा आगजनी र लुटपाटका घटनाले बढावा पाएको थियो।

सुनसरीमा कर्फ्यू शनिबारसम्म

यसैबीच सुनसरी जिल्लामा कर्फ्यू शनिबारसम्म लम्बिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धम्रेन्द्रकुमार मिश्रले कर्फ्यू आदेश जारी गरेका हुन्। मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन्।

आदेश अनुसार कर्फ्यु अवधिभर जिल्लाभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउजस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।

तर अत्यावश्यक सेवाका सवारी साधनहरू एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानवअधिकारकर्मी र कूटनीतिक नियोगका सवारी साधनहरूको आवागमन भने सुरक्षाकर्मीको सहजीकरणमा सञ्चालन हुने व्यवस्था गरिएको प्रशासनले जनाएको छ। सुनसरीसहित कोशी प्रदेशका मोरङ, झापा लगायतका जिल्लामा सेनाले अहिले सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रकाशित: २७ भदौ २०८२ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast