रवि बाहिरिँदाको पत्र ‘नक्कली’, सम्पर्कमा आउन कारागारको अनुरोध

हिमाल प्रेस २७ भदौ २०८२ १५:४७
रवि बाहिरिँदाको पत्र ‘नक्कली’, सम्पर्कमा आउन कारागारको अनुरोध

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागारबाट बाहिरिएपछि सार्वजनिक गरेको पत्र आधिकारिक नरहेको खुलेको छ। जेनजी आन्दोलनका क्रममा २४ भदौमा कारागारबाट निस्किएका सभापति लामिछानेले प्रशासनबाट अनुमति लिएर बाहिरिएको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

नख्खु कारागार प्रशासनले रविले सार्वजनिक गरेको त्यो पत्र आधारिकारिक नभएको स्पष्ट पारेको हो। नख्खु कारागार प्रशासन प्रमुख सत्यराज जोशीले त्यो पत्र आधिकारिक नभएको जिकिर गरेका हुन्। ‘त्यो पत्रको कुनै पनि अंश मिलेको देखिँदैन,’ उनले भने, ‘त्यो पत्र उहाँहरूले के गर्नुभएको हो मलाई पनि जानकारी छैन। त्यो विषयमा धेरै बोल्न सक्दिनँ। उहाँ आएपछि थप कुरा गरौँला।’

कारागार प्रशासनले लामिछानेलाई तत्काल सम्पर्कमा आउन अनुरोध गरेको छ। जोशीले रास्वपा सभापति लामिछानेसहित यहाँबाट भागेका अन्य कैदीबन्दीहरूलाई नजिकको प्रहरी चौकी अथवा सीधै कारागारमा आएर सम्पर्क गर्न अनुरोध गरिएको बताए। ‘रवि लामिछानेसहित सबै कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन भनेका छौँ,’ एक टेलिभिजनसँग कुराकानीमा जोशीले भने, ‘नजिकको प्रहरी चौकी अथवा सीधै कारागारमा आउन भनेका छौँ।’

रास्वपा लामिछानेले भने पत्र पाएपछि कारागारको अनुमतिमा आफू त्यहाँबाट निस्किएको दाबी गरेका छन्। कारागारबाट निस्किएर सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले कारागारले पत्र दिएपछि आफू बाहिर निस्किएको बताएका थिए। उनले भनेका थिए, ‘कानुनलाई सघाउँदै कारागारले रिहाइ गर्ने निर्णयसहितको पत्र प्राप्त गरेपछि मात्र नागरिकको भिडसँगै बाहिरिएको हुँ। कानुनी प्रक्रियालाई सघाउन सदैव तयार छु।’ उनले आफू निस्किन चाहेको नभई भीड बढेपछि कारागारले जबर्जस्ती निकालेको बताएका थिए।

जोशीले अन्तिम समयसम्म कैदीबन्दीको सुरक्षाका लागि प्रयास गरे पनि आफैँ बाँच्न नसक्ने अवस्था भएपछि कारागार छोड्नुपरेको जिकिर गरेका छन्।

रास्वपा सभापति नख्खु कारागारबाट बाहिरिएपछि देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू भागेका थिए। भागेका कैदीबन्दीहरूलाई तत्काल सम्पर्कमा आउन सम्बन्धित कारागार र नेपाल प्रहरीले निर्देशन दिएको छ।

लामिछानेले आफू कारागार प्रशासनको अनुमति पत्र लिएर जेलबाट बाहिर आएको दाबी गरेका थिए। उनले प्रहरी प्रशासन र कारागारले बोलाएका बेला आफू जहाँ जान पनि तयार रहेको बताएका छन्।

लामिछानेसँग नख्खु कारागारबाट फरार भएका जनकपुर बमकाण्डमा दोषी ठहरिएर सजाय भुक्तान गरिरहेका सञ्जय साह (टकला) भने फर्किएका छन्। साह कारागारबाट फरार भएर आफ्नो घर जनकपुर पुगेका थिए।

बिहीबार उनलाई प्रहरीले काभ्रेको मंगलटारबाट पक्राउ गरेको थियो। प्रहरीले फरार भइरहेको अवस्थामा पक्राउ गरेको बताए पनि साहले भने आफू कारागार फर्किइरहेको बेला जबजरस्ती नियन्त्रणमा लिएको दाबी गरेका छन्।

उनले कारागार फर्किइरहेको बेला मंगलटारबाट नियन्त्रणमा लिएर प्रहरीले गलत सूचना फैलाएको आरोप लगाएका छन्। भाग्नै परेको भए जनकपुरबाट भारततर्फ जान सक्ने उनले जिकिर गरेका छन्।

त्यस्तै भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि त्यही राति भागेका थिए। उनी पनि अहिलेसम्म कारागारको सम्पर्कमा नआएको बताइएको छ।

प्रकाशित: २७ भदौ २०८२ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast