
काठमाडौँ- कलाकार तथा फिल्म निर्देशक दीपकराज गिरीले जेनजीको आन्दोलनलाई साथ दिँदा आफूलाई धम्की आउन थालेको बताएका छन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई फोन र म्यासेजमा लगातार धम्की आइरहेको बताएका हुन्।
जेनजीलाई उकासेकाे भन्दै आफूलाई धम्क्याएको उनले लेखेका छन्, ‘जेनजीलाई उकास्ने तँ? कलाकार भएर जेनजीतिर लाग्ने? एक एक हिसाब राखिन्छ, ती कलहरू मध्ये केही त रेकर्ड पनि गरेर राखेको छु।’
भाइबहिनीहरूले उठाएको सुशासन र भ्रष्टाचारको मुद्दामा समर्थन जनाउनु र सरकारलाई दवाव दिनु अपराध ठहर भएमा त्यसको भागीदार बन्न पनि तयार रहेको बताएका छन्।
उनले आफू २०४६ र २०६२/६३ सालमा पनि आफ्नो पेसा छोडेर आन्दोलनलाई नै साथ दिएर सडकमा आएको पनि उल्लेख गरेका छन्। २०४६ सालको ठूलो आन्दोलनमा तपाइहरूसँगै आन्दोलनमा सडकमा नै थिए म। ६२/६३ सालमा पनि आफ्नो पेसा नै धरापमा राखेर तपाइहरूकै मागलाई समर्थन गरेर तपाइहरूकै कित्तामा उभिएकै हो,’ पोस्टमा उनले भनेका छन्, ‘हरेक खाले परिवर्तनको सवालमा तपाइहरूसँगै उभिएर केहि राजनीतिक लाभ नलिइकन सकारात्मक भूमिका नै निभाएको हुं। अहिले पनि केहि लोभले यो आन्दोलनलाई समर्थन गरेको होइन।’
जेनजी आन्दोलनको घटनाक्रममा सबै पक्षको केहि न केहि गल्ति भएको भन्दै उनले सरकार पक्षका मानिसहरूले आफ्नो गल्ति महसुस नगरी अरुलाई पनि यस्तै यातना दिन थालेको बताएका छन्।
आन्दोलनको पहिलो दिनदेखि नै आफूसँगै धैरै कलाकारले भ्रष्टाचारविरूद्दको आन्दोलनमा साथ दिएको र शान्तिपूर्ण होस् भनेर अनुरोध गरेको पनि उल्लेख गरेका छन्।
‘सबैले आ-आफ्नो गल्ती महसुस गरेर क्रान्ति, प्रतिक्रान्ति र बदलाका कुरा छोडेर एकजुट भइ पुनः मुलुक निर्माणको बारेमा सोच्नु पर्ने हो कि’ उनले भनेका छन्।