दुई दर्जन होटलमा क्षति, २५ अर्ब नोक्सानी

हिमाल प्रेस २७ भदौ २०८२ १४:११
दुई दर्जन होटलमा क्षति, २५ अर्ब नोक्सानी

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा देशभरका करिब दुई दर्जन होटलमा ठूलो क्षति पुगेको होटल संघ नेपालले जनाएको छ। संघले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका कारण होटल व्यवसायमा करिब २५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भएको प्रारम्भिक अनुमान प्रस्तुत गरेको हो।

संघका अनुसार काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ (विराटनगर), धनगढी, महोत्तरी, दाङ, तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्डका होटल प्रत्यक्ष प्रभावित भएका छन्। काठमाडौँमा रहेको हिल्टन होटलको मात्र क्षति ८ अर्ब रुपैयाँभन्दा बढीको भएको उल्लेख छ।

होटलहरू मर्मत र पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने हुँदा करिब दुई हजारभन्दा बढी कामदार र कर्मचारीको रोजगारी संकटमा पर्ने संघको भनाइ छ। चाडपर्व नजिकिँदै गर्दा होटल सञ्चालन अवरुद्ध भएपछि उनीहरूको रोजिरोटीमा प्रत्यक्ष असर पर्ने देखिएको छ। साथै प्रभावित होटलहरूले बैंक तथा वित्तीय संस्थासँगको आर्थिक दायित्व पनि तत्काल तिर्न नसक्ने अवस्था आएको संघले जनाएको छ।

संघले आन्दोलनमा नवयुवाहरूले गरेको बलिदानको सम्मान गर्दै जनताले खोजेको सुशासन र परिवर्तनको अभियानलाई समर्थन गर्ने उल्लेख गरेको छ। तर, सर्वसाधारणको सेयर लगानी रहेको पब्लिक लिमिटेड कम्पनीसहित निजी क्षेत्रका ठूला होटलहरूमा भएको क्षति ‘पीडादायी’ भएको भन्दै संघले यथाशीघ्र शक्तिशाली अधिकारप्राप्त न्यायिक समितिबाट छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ।

त्यसैगरी, क्षतिपूर्तिसहित मर्मतसंभार तथा पुनर्निर्माणका लागि सरकारले विशेष आर्थिक प्याकेज ल्याउनुपर्ने संघको आग्रह छ। संघले यस्तो कदमले लगानीकर्ताको मनोबल कायम राख्ने, पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने र नयाँ युगतर्फ प्रवेश गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: २७ भदौ २०८२ १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast